मान्म, ३ वैशाख । नेपाल सरकारको राष्ट्रिय अभियानअनुसार यही वैशाख ६ र ७ गते देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। बालबालिकाको स्वास्थ्य सुरक्षा र उज्ज्वल भविष्यका लागि वर्षमा दुई पटक (कात्तिक र वैशाखमा) सञ्चालन गरिने यो कार्यक्रमअन्तर्गत यसपटक कालीकोट जिल्लाका सबै पालिका र वडाहरूमा तयारी पूरा भएको छ।

यस अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाहरूलाई लक्षित समूहमा राखिएको छ। ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई एक क्याप्सुल खुवाइने व्यवस्था छ। त्यसैगरी, एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) समेत खुवाइनेछ, जसले बालबालिकालाई कुपोषण, रगतको कमी र पेट दुख्ने जस्ता समस्याबाट बचाउन मद्दत गर्ने स्वास्थ्य सेवा कार्यालय कालीकाेटका प्रमुख डाक्टर रत्नविर सुनारले बताउनु भयाे ।
उहाँका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको ज्योति तेजिलो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन र समग्र शारीरिक वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। तसर्थ, आफ्ना बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै नजिकैको स्वास्थ्य संस्था, किउल स्वास्थ्य चौकी वा तोकिएको महिला स्वास्थ्य स्वयंसेविकाको केन्द्रमा पुगेर यो सेवा लिन सम्पूर्ण अभिभावकहरूमा अनुरोध गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रममा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले देशभरका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूलाई परिचालन गरेको छ। आफ्ना बालबालिकालाई स्वास्थ्य केन्द्रमा लैजाँदा स्वास्थ्यकर्मीको सल्लाहअनुसार सही मात्रामा औषधि खुवाउन र खुवाएपछि बच्चालाई पर्याप्त खाना र पानी दिन समेत अभिभावकहरूलाई सचेत गराइएको छ। स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रको आधार भएकाले यो राष्ट्रिय अभियानलाई सफल पार्न सबैको सहभागिता आवश्यक रहेकाे स्वास्थ्य सेवा कार्यालय कालीकाेट सूचना अधिकारी कटक महतले बताउनु भयाे।