Loading

शुभकालिका गाउँपालिकामा ३ करोड ३२ लाख बेरुजु, १३ लाखभन्दा बढी रकम असुल गर्नुपर्ने

शुभकालिका गाउँपालिकामा ३ करोड ३२ लाख बेरुजु, १३ लाखभन्दा बढी रकम असुल गर्नुपर्ने

कालीकोट- कालीकोटको शुभकालिका गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनमा करोडौँ रुपैयाँ बेरुजु देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षमा ५ करोड ४३ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ। त्यसमध्ये केही रकम फर्छ्योट भइसकेपछि ३ करोड ३२ लाख ९६ हजार रुपैयाँ बेरुजु बाँकी रहेको उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार उक्त बेरुजुमध्ये १३ लाख ३६ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने, १ करोड १३ लाख ९७ हजार रुपैयाँको प्रमाण कागजात पेश गर्नुपर्ने, १ करोड ९३ लाख १३ हजार रुपैयाँ नियमित गर्नुपर्ने तथा १२ लाख ५० हजार रुपैयाँ पेश्की बाँकी रहेको देखिएको छ।

महालेखापरीक्षकको कार्यालयले गाउँपालिकाको करिब ९८ करोड ८० लाख ७५ हजार रुपैयाँ बराबरको आर्थिक कारोबारको लेखापरीक्षण गरेको थियो। सो क्रममा वित्तीय व्यवस्थापन, खर्च प्रक्रिया र कागजात व्यवस्थापनमा विभिन्न कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार केही योजनामा खर्चको प्रमाण स्पष्ट नभएको, खरिद प्रक्रियामा आवश्यक कागजात नपुगेको, उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानीमा विवरण अपुग रहेको तथा कतिपय खर्च नियमानुसार पुष्टि नभएको पाइएको छ।

त्यस्तै, गाउँपालिकाले केही शीर्षकमा खर्च गर्दा प्रचलित आर्थिक कार्यविधि र सार्वजनिक खरिद सम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको उल्लेख गरिएको छ। योजना कार्यान्वयन, भुक्तानी प्रक्रिया र लेखा व्यवस्थापनमा देखिएका कमजोरीका कारण ठूलो रकम बेरुजु देखिएको प्रतिवेदनले औँल्याएको छ।

अघिल्लो आर्थिक वर्षसम्म १७ करोड ७९ लाख ८९ हजार रुपैयाँ बेरुजु बाँकी रहेकोमा चालु वर्षको बेरुजु थपिएपछि गाउँपालिकाको कुल बेरुजु २१ करोड १२ लाख ७० हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महालेखापरीक्षकको कार्यालयले बेरुजु रकम फर्छ्योट गर्न, असुल गर्नुपर्ने रकम तत्काल असुल गर्न र आवश्यक प्रमाण कागजात पेश गर्न गाउँपालिकालाई निर्देशन दिएको छ। साथै वित्तीय अनुशासन कडाइका साथ लागू गरी सार्वजनिक खर्चमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न सुझाव दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार