कालीकोट – कालीकोट जिल्लामा सञ्चालित पोषण विशेष कार्यक्रम तथा विद्यालय स्वास्थ्य पोषण कार्यक्रमको तथ्यांक विश्लेषण तथा आगामी योजना तर्जुमा गर्न आयोजित अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा फागुन २७ गतेदेखि सुरु भएको उक्त गोष्ठी आज सम्पन्न भएको हो। स्वास्थ्य सेवा कार्यालयको तालिम हलमा आयोजित कार्यक्रममा जिल्लाभरका स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा कार्यक्रमसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।

गोष्ठीमा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन भएका पोषण विशेष कार्यक्रम तथा विद्यालय स्वास्थ्य पोषण कार्यक्रमको तथ्यांक प्रस्तुत गर्दै कार्यक्रमको उपलब्धि, चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकका आधारमा जिल्लामा बालबालिकाको पोषण अवस्था सुधार गर्न विद्यालय स्वास्थ्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने, समुदायस्तरमा पोषणसम्बन्धी सचेतना बढाउनुपर्ने तथा स्वास्थ्य संस्थाहरूबीच समन्वयलाई थप सुदृढ बनाउनुपर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए।
गोष्ठीमा पोषण कार्यक्रमका सूचकहरू, सेवा प्रवाहको अवस्था तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे समेत छलफल गरिएको थियो। साथै तथ्यांक विश्लेषणका आधारमा आगामी वर्षका लागि सुधारमुखी कार्ययोजना निर्माण गर्ने विषयमा पनि सहभागीसँग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार यस्तो प्रकारको तथ्यांक विश्लेषण तथा अन्तरक्रिया गोष्ठीले जिल्लामा सञ्चालन भइरहेका पोषण तथा विद्यालय स्वास्थ्य कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।