काठमाडौँ, २३ कार्तिक। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) को चौथो दिन आज घर–घरमा गाईको विशेष पूजा–आराधना गरी मीठो–मसिना खानेकुरा खान दिएर गाई तिहार मनाइँदैछ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने लोकविश्वासका कारण गाईलाई ‘गौमाता’ अर्थात् जननीसरह सम्मान गर्ने परम्परा रहिआएको छ।
गाईबाट प्राप्त हुने पञ्चगव्य—दूध, दही, घिउ, गोबर र गहुँत धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक दृष्टिकोणले समेत अत्यन्तै पवित्र एवं उपयोगी मानिन्छ। नेपालका कतिपय समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गरिने भए पनि धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुवात हुने समयमा गाईपूजा गर्ने वैदिक विधान छ। आजै गाईको पूजा गरी जनैपूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधेर वैतरणी नदी तरिने धार्मिक विश्वाससमेत रहेको छ। राष्ट्रिय जनावरको रूपमा सम्मानित गाईलाई कृषि युगको सुरुवातदेखि नै प्रमुख ‘पशुधन’ का रूपमा लिइँदै आइएको हो।
ऋग्वेदको दोस्रो मण्डलमा ‘स्व आ दमे सुदुधा पस्य धेनुः’ भन्दै घरमा दुधालु गाईको कामना गरिएको छ भने अथर्ववेदले गाईलाई सम्पत्तिको मुख्य भण्डार मानेको छ। पशुपालन र कृषिकर्मको युगमा दूध, मल र ऊर्जाको मुख्य स्रोत गाई नै भएकाले हाम्रा पुर्खाले यसलाई धनको प्रतीक मानेका थिए। अनिकाल र युद्धका बेला गोवध तथा बलिप्रथा बढ्न थालेपछि वैदिक कालमै ऋग्वेद र मनुस्मृतिले गाई मार्ने कार्यलाई ठूलो पाप (उपपातक) घोषणा गर्दै यसको संरक्षणमा जोड दिएका थिए। इतिहासकार पाण्डुरंग वामन काणेका अनुसार प्राचीन सौत्रामणि यज्ञहरूमा पशुबलिको अभ्यास रहे पनि पछि कृषि अर्थतन्त्र जोगाउन र प्रकृतिप्रति सम्मानभाव जगाउन गाईगोरुको पूजा गर्ने सांस्कृतिक परम्परा संस्थागत भएको देखिन्छ।
यमपञ्चकअन्तर्गत यसअघि काग, कुकुर र लक्ष्मीको पूजा सम्पन्न भइसकेको छ। भोलि मङ्गलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा नेवार समुदायमा म्हपूजा मनाइनेछ भने भोलिबाटै नेपाल संवत् ११४७ पनि प्रारम्भ हुँदैछ। यमपञ्चकको अन्तिम दिन पर्सि कात्तिक २५ गते बुधबार दिदीबहिनी र दाजुभाइबीचको आत्मीय पर्व भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाका लागि पर्सि बुधबार बिहान ११ बजेर ७ मिनेटको साइत सबैभन्दा उत्तम रहेको छ।