-प्रकाश बहादुर शाही
जुम्ला भाद्र ३० गते । राष्ट्रिय बाल दिवसको अवसरमा साेमबार तातोपानी गाउँपालिका, जुम्लामा बालबालिकाको अधिकार, सहभागिता र नेतृत्व विकासमा केन्द्रित विविध कार्यक्रमहरू सम्पन्न भएका छन्।
प्रथम बालिका सम्मेलन समारोहमा बालिकाहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण र समान अवसरसँग सम्बन्धित २१ बुँदे घोषणा-पत्र जारी गरेको छ।
यसै अवसरमा “एक गोल, बालविवाहविरुद्धको गोल” भन्ने नाराका साथ भदौ २७ र २८ गते प्रथम उपाध्यक्ष बालिका फुटबल कप प्रतियोगिता सञ्चालन गरिएको थियो। गाउँपालिकाका ६ वटा विद्यालय सहभागी उक्त प्रतियोगितामा श्री दुर्गा माध्यमिक विद्यालय लामा प्रथम हुँदै रु. ४० हजार प्राप्त गरेको छ। त्यसैगरी श्री नेत्रज्योति माध्यमिक विद्यालय हाकु द्वितीय (रु. २० हजार) र श्री गणेश माध्यमिक विद्यालय तृतीय (रु. १५ हजार) भएका छन्।

बाल दिवसकै अवसरमा आयोजित चित्रकला प्रतियोगितामा श्री हिमशिखर माध्यमिक विद्यालय प्रथम (रु. ५ हजार), श्री दुर्गा माध्यमिक विद्यालय द्वितीय (रु. ४ हजार) र श्री नेत्रज्योति माध्यमिक विद्यालय तृतीय (रु. ३ हजार) बनेका छन्।
त्यस्तै “जलवायु परिवर्तन र बाल अधिकार” विषयक माध्यमिक तहस्तरीय निबन्ध प्रतियोगितामा श्री दुर्गा माध्यमिक विद्यालयका देवराज कामी प्रथम र सोही विद्यालयकी अनुराधा चौलागाईं द्वितीय हुनुभएको छ। श्री नेत्रज्योति माध्यमिक विद्यालयकी स्वीकृति उपाध्यायले तृतीय स्थान हासिल गर्नुभएको छ। विजेताहरूलाई क्रमशः रु. ३ हजार, रु. २ हजार र रु. १ हजार ५ सय नगद पुरस्कार प्रदान गरियो।

तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निवर्तमान मन्त्री माधव प्रसाद उपाध्याय प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. गणेश रोकाया र किर्डाक नेपालका परियोजना व्यवस्थापन प्रमुख रामबहादुर रावत विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
वक्ताहरूले बालबालिकालाई नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउँदै बाल अधिकारको संरक्षण र विकासमा स्थानीय तहबाटै ठोस पहल हुनुपर्नेमा जोड दिनुभएको छ।