Loading

रसुवा बाढी विपद् प्रतिकार्य: मृतक संख्या १,२५२ पुग्यो, ४,२१६ जना अझै सम्पर्कविहीन

रसुवा बाढी विपद् प्रतिकार्य: मृतक संख्या १,२५२ पुग्यो, ४,२१६ जना अझै सम्पर्कविहीन

काठमाडौँ १८ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको छ। २०८३ भदौ १८ गते अपराह्न १२:०० बजेसम्म प्राप्त विवरणअनुसार बाढीका कारण ज्यान गुमाउनेको संख्या १,२५२ पुगेको छ।

विपद्‌का कारण चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, धादिङमा ६०, गोरखामा ६९ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म ९५ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ। यस्तै, सुरक्षा निकाय, निजामती कर्मचारी, पर्यटक र स्थानीय तहका कर्मचारीसहित करिब ४,२१६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

प्रभावित क्षेत्रबाट हालसम्म ११,९९३ जनाको सफल उद्धार गरिएको छ। हवाई उद्धारअन्तर्गत नेपाली सेनाले २५३ जना विदेशी र ४,०९१ जना नेपाली नागरिकको उद्धार गरेको छ। सेनाले ७१५ पटक र निजी क्षेत्रमार्फत १२९ पटक हवाई उडान भरिएको छ। बाढीका कारण घाइते भएका ५,१३५ जनामध्ये विभिन्न अस्पतालमा ३०१ जनाको उपचार भएको छ भने नेपाली सेनाबाट ३,२०६ र सशस्त्र प्रहरीबाट १,६२८ जनाले स्वास्थ्य उपचार पाएका छन्।

विस्थापनमा परेका ३,९४८ जना नागरिकहरू हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेका छन्। क्षेत्रमा २१,४०२ जना सुरक्षाकर्मी (नेपाल प्रहरी ७,९१२, नेपाली सेना ९,२८७ र सशस्त्र प्रहरी ४,२०३) परिचालन गरिएका छन्। नेपाल सरकारले रसुवा र नुवाकोटलाई १-१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख गरी कुल १५ करोड नगद राहत उपलब्ध गराएको छ।

काठमाडौँबाट ४५ ट्रक, ३७ बोलेरो र ९ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। सञ्चारतर्फ नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालन भइसकेका छन्। इन्धनतर्फ प्रभावित क्षेत्रमा ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार