Loading

रसुवाको भोटेकोशी बाढी: ६२६ जनाको शव फेला, २४२६ सम्पर्कविहीन, उद्धार र राहत कार्य तीव्र

रसुवाको भोटेकोशी बाढी: ६२६ जनाको शव फेला, २४२६ सम्पर्कविहीन, उद्धार र राहत कार्य तीव्र

काठमाडौँ १३  भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले २०८३ भदौ १३ गते बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै २४२६ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

बाढीका कारण विभिन्न अस्पतालहरूमा हाल १०१ जना घाइतेहरूको उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।

बाढीले बगाएर ल्याएका ६२६ वटा शवहरू तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा फेला परेका छन्। प्राप्त विवरण अनुसार चितवनमा सबैभन्दा बढी २३३ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ५१, गोरखामा ४८ (विभिन्न मानव अङ्गसहित), नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव भेटिएको छ।

सम्पर्कविहीन हुने २४२६ जनामध्ये जलविद्युत् आयोजनाहरूबाट मात्रै ९३३ जना रहेका छन्। जिल्लागत आधारमा रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना र मकवानपुरबाट ६५ जना बेपत्ता भएका छन्। यसका साथै ५१७ जना विदेशी नागरिक, विदेशमा बस्ने १२७ जना नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जनासँग पनि हालसम्म सम्पर्क हुन सकेको छैन। बाढीका कारण नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २७ जना, भन्सार कार्यालयका १५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना र अध्यागमन कार्यालयका ४ जना राष्ट्रसेवक कर्मचारीहरू पनि सम्पर्कविहीन छन्।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि कुल १५,२२४ जना सुरक्षाकर्मी परिचालित छन्। जसमा नेपाली सेनाका ६,७५५ जना, नेपाल प्रहरीका ४,८११ जना र सशस्त्र प्रहरी बल नेपालका ३,६५८ जना खटिएका छन्।

हालसम्म जलविद्युत्को सुरुङबाट १९१ जना र हवाई उद्धार गरिएका ५१७ जनासहित कुल ४,४५१ जनाको सफल उद्धार गरिएको छ, जसमध्ये १२९ जना विदेशी नागरिक रहेका छन्। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकोप्टरमार्फत ९९ हवाई उडान भइसकेका छन्।

सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा १५ वटा पालिकाका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ नगद निकासा गरेको छ। ३७ ट्रक तथा हेलिकोप्टरका ७ उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पठाइसकिएको छ।

क्षतिग्रस्त १९८ वटा टेलिफोन टावरमध्ये १४५ वटा मर्मतपछि सञ्चालनमा ल्याइएको छ। यस्तै नुवाकोटमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात राखिएको छ भने पठाइएको ३९ हजार लिटर हवाई इन्धनमध्ये हाल ८ हजार लिटर मौज्दात र ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार