वीरेन्द्रनगर ९ भाद्र। सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार सुनिश्चित गर्न क्रियाशील नागरिक समाजको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान’ (एनसीई) नेपाल कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
सुर्खेतमा सम्पन्न प्रदेश अधिवेशनले सुर्खेतका भूपेन्द्र कडेलको संयोजकत्वमा ९ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति चयन गरेको हो। समितिको सह-संयोजकमा दैलेखका हिक्मत नेपाली, सचिवमा दैलेखकै लोकेश गिरी र कोषाध्यक्षमा सुर्खेतकी रजनी योगी निर्वाचित हुनुभएको छ।
यसैगरी, सदस्यहरूमा कालीकोटका मनोज देवकोटा, जाजरकोटका वीरबहादुर बस्नेत, सुर्खेतकी गीता बोहरा, मुगुका रावल र दैलेखका जीवराज रेग्मी सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशन पश्चात् नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सहभागीहरूले कर्णालीका हिमाली तथा विकट ग्रामीण क्षेत्रका विद्यालयहरूमा गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन, सार्वजनिक शिक्षा सुदृढीकरण गर्न र शिक्षासम्बन्धी प्रादेशिक नीति-निर्माणमा निरन्तर पैरवी (एडभोकेसी) गर्न आग्रह गरेका छन्। नवनिर्वाचित संयोजक कडेलले नागरिक समाजको साझा सञ्जाललाई थप सशक्त बनाउँदै कर्णालीको शैक्षिक रूपान्तरण र बालअधिकार प्रवर्द्धनका लागि स्थानीय तथा प्रदेश सरकारसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।