कालीकाेट ३१ साउन । कालीकोटको रास्कोटस्थित प्रादेशिक रणनीतिक अस्पतालमा भदौ १ गतेदेखि विशेषज्ञ डाक्टरसहितको आधुनिक स्वास्थ्य सेवा औपचारिक रूपमा सुरु हुने भएको छ। रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युट (NSI) बीच भएको सम्झौता अनुसार एमडीजीपी डा. हरिजेन यादवको नेतृत्वमा खटिएको टोलीले सेवा शुभारम्भ गर्न लागेको नगर प्रमुख धर्मराज शाहीले बताउनु भयाे।
अस्पतालमा आकस्मिक प्रसूति तथा नवजात शिशु गहन सेवा (CEmONC) सहितको विशेषज्ञ सेवा उपलब्ध हुने भएपछि स्थानीय नागरिकहरूमा खुसीयाली छाएको छ। यसअघि जटिल उपचार र प्रसूति सेवाका लागि टाढाका सुविधासम्पन्न अस्पतालमा धाउनुपर्ने बाध्यतामा रहेका रास्कोटका साथै छिमेकी पालिका र आसपासका जिल्लाका सर्वसाधारण अब आफ्नै क्षेत्रमा गुणस्तरीय सेवाबाट लाभान्वित हुनेछन्।
नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक सुनिश्चित गर्न निरन्तर पहल गर्ने नगरप्रमुख पोषण शाही ‘धर्मराज’ सहितको टोलीलाई स्थानीयले धन्यवाद ज्ञापन गरेका छन्। रास्कोट पुगेको एन.एस.आई.को विशेषज्ञ टोलीलाई नगर सरकारले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।