धनगढी, २९ साउन । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।
अघिल्ला मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। सोही आह्वान अनुसार नेकपा एमालेको समर्थनसहित भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको थियो।
दाबी पेस भएलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो। नवनियुक्त मुख्यमन्त्री भट्टको पद तथा गोपनीयताको शपथ ग्रहण आजै आयोजना गर्ने तयारी गरिएको छ।