मान्म (कालीकोट), १८ वैशाख । रोल्पाको थवाङस्थित जलजलामा बिहीबार भएको बीभत्स जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाकै पहिचान खुलेको छ। रुकुमकोटबाट जलजला मेला भर्न गएका यात्रुहरू सवार लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेमा अधिकांश रुकुम पूर्वका रहेका छन्।
मृतकहरूको विवरण:
दुर्घटनामा रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका मात्रै १० जनाले ज्यान गुमाएका छन्। उक्त टोलका गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष), तिलकुमारी बुढाथोकी (५३ वर्ष), युवा बुढाथोकी (२८ वर्ष), दिव्यन बुढाथोकी (१० वर्ष), सृजना बुढाथोकी (२४ वर्ष), सुदीप बुढाथोकी (१३ वर्ष), ओमकुमारी बुढाथोकी (४० वर्ष), मीना कामी (६० वर्ष), लक्ष्मी शाह (६० वर्ष) र रुक्मिणा बस्नेतको मृत्यु भएको हो।
त्यस्तै, भूमे गाउँपालिका–५ का टेकप्रशाद बस्नेत र शान्तिनगर, दाङ घर भई हाल सिस्ने–५ मा बस्दै आएकी धनमाया विष्टको पनि दुर्घटनामा ज्यान गएको छ। दाङको घोराही–१५, रतनपुरका एकै परिवारका ७ जना सदस्यहरू दोरपती जिसी (५४ वर्ष), तिला जिसी (३२ वर्ष), जेनिस जिसी (७ वर्ष), जेनिसा जिसी (१२ वर्ष), एलिना जिसी (२५ वर्ष), संयोग जिसी (७ वर्ष) र यमबहादुर जिसीले पनि सोही दुर्घटनामा ज्यान गुमाएका छन्। दुर्घटनामा चालक ४२ वर्षीय बेदु कामीको पनि मृत्यु भएको छ।
छतबाट हाम फालेर बाँच्न सफल एक यात्री
दुर्घटनामा परेको जिपका एक जना यात्रु भने भाग्यवश बाँच्न सफल भएका छन्। सिस्ने–५ का ३२ वर्षीय समिर कामीले जिप सडकबाट खस्नेबित्तिकै छतबाट हाम फालेर ज्यान जोगाउनुभएको हो। सामान्य घाइते उहाँ उपचारपछि घर फर्किसक्नुभएको छ।
बिहीबार दिउँसो तीर्थयात्री बोकेर जलजलातर्फ जाँदै गरेको जिप सडकबाट करिब ८ सय मिटर तल खसेको थियो। एउटै गाउँका १० जना र एउटै परिवारका ७ जनाको मृत्यु भएपछि यतिबेला रुकुम पूर्व र दाङको रतनपुर क्षेत्र शोकमा डुबेको छ।