Loading

आईटीयू महासम्मेलनमा नेपालको नेतृत्व गर्दै दोहा पुगे मन्त्री डा. तिमिल्सिना

आईटीयू महासम्मेलनमा नेपालको नेतृत्व गर्दै दोहा पुगे मन्त्री डा. तिमिल्सिना

दोहा (कतार) २३ कार्तिक। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन (PP-26) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुग्नुभएको छ। सम्मेलनका दौरान उहाँले उच्चस्तरीय मन्त्रीस्तरीय बैठक तथा प्रतिनिधिमण्डल प्रमुखहरूको बैठकमा सक्रिय सहभागिता जनाउनुभएको हो।

कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री र कतारको सञ्चार नियामक प्राधिकरणद्वारा आयोजित मन्त्रीस्तरीय बैठकमा महासम्मेलनका प्रमुख कार्यसूची, विश्वव्यापी दूरसञ्चार नीति, साझा सरोकार तथा आगामी ‘दोहा घोषणापत्र’ का विषयमा गहन छलफल भएको थियो। विश्वव्यापी दूरसञ्चार नीति निर्माणमा नेपालको प्रभावकारी र सशक्त उपस्थिति सुनिश्चित गर्न मन्त्री तिमिल्सिनाले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूसँग समेत विचार आदानप्रदान गर्नुभयो।

कतार भ्रमणकै क्रममा मन्त्री तिमिल्सिनाले दोहास्थित नेपाली राजदूतावासको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले दूतावासबाट प्रवाह गरिने कन्सुलर लगायतका सेवाहरूलाई छिटोछरितो, झन्झटरहित र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्न कडा निर्देशन दिनुभयो।

यसैगरी, मन्त्री तिमिल्सिनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार तथा त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गर्नुभएको छ। विदेशमा रहेका नेपाली नागरिकहरूका लागि प्रविधिमैत्री सेवा प्रवाह विस्तार गर्नु नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार