अन्तालिया (टर्किए) २३ कार्तिक । जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्यामा मात्र सीमित नराखी उदीयमान जनस्वास्थ्य संकटका रूपमा सम्बोधन गर्न नेपालले विश्व समुदायसमक्ष जोडदार माग गरेको छ। टर्किएको अन्तालियामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल प्याभिलियनमा आयोजित विशेष सत्रमार्फत नेपालले जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न स्पष्ट सन्देश दिएको हो।
सम्मेलनको क्रममा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ शीर्षकको सत्रको अध्यक्षता गर्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहताले विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “स्वस्थ नागरिकबिना उत्थानशील भविष्य असम्भव छ, र स्वस्थ मानिसका लागि उत्थानशील पृथ्वी अपरिहार्य हुन्छ।”
मन्त्री मेहताले बाढी, पहिरो, अत्यधिक गर्मी (लु) तथा खाद्य र पिउने पानीको असुरक्षाका कारण जनस्वास्थ्यमा परिरहेको गम्भीर असरबारे चर्चा गर्दै जलवायु नीति र अनुकूलन योजनाहरूमा स्वास्थ्य प्राथमिकतातर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो। साथै, जलवायु परिवर्तनको उच्च जोखिम झेलिरहेका नेपालजस्ता अतिकम विकसित तथा पहाडी मुलुकहरूका लागि सहज, अनुमानयोग्य र पूर्ण रूपमा अनुदानमा आधारित जलवायु वित्त (क्लाइमेट फाइनान्सिङ) उपलब्ध गराउन उहाँले अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभयो।
विश्व स्वास्थ्य संगठन (WHO) र आइपास (IPAS) नेपालको सहकार्यमा सम्पन्न उक्त सत्रमा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि, जलवायु विज्ञ तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले जलवायु–उत्थानशील स्वास्थ्य प्रणालीको विकासका विषयमा छलफल गरेका थिए।