कालीकाेट- २३, कालीकाेट । यमपञ्चक सुरु हुनुभन्दा अगावै, कात्तिक २० गतेदेखि नै गाउँ–सहरका गल्ली र आँगनमा देउसी–भैलोका स्वरहरू घन्किन थाले। तर विडम्बना ! ती स्वरहरूमा न त आफ्नै माटोको सुगन्ध भेटियो, न परम्परागत मादल, खैँजडी र दमाहाको मीठो ताल। आँगन–आँगनमा ठड्याइएका ठूला–ठूला लाउडस्पिकर र डिजेमा कानै फुट्ने गरी लोकगायिका विष्णु माझी र विनोद बाजुरालीको स्वरमा रहेको चर्चित गीत ‘हुने वाला जीवन साथी, फोन गरेई १० बजे राती’ घन्किरहेको सुनिन्छ। चाडपर्वको आफ्नै मर्म हुन्छ, अनि देउसी–भैलोको आफ्नै ऐतिहासिक गरिमा। तर आज त्यो गरिमा भड्किलो आधुनिकता, कान चिर्ने चर्को आवाज र सस्तो मनोरञ्जनको सिकार बन्न पुगेको छ।
कुनै समय थियो— हाम्रा पुर्खाहरू, युवा र बालसखा मिलेर आँगनमा मादलको खरी ठोक्दै ‘भट्याउने’ गर्थे। ती मौलिक भट्याइहरू केवल मनोरञ्जन मात्र थिएनन्; वर्षभरिका दुःख–पीडा, हलो–कोदालो गर्दाका व्यथा, गाउँ–ठाउँमा भए–गरेका राम्रा काम र समाजको विकास निर्माणका कथाव्यथालाई लय हालेर पोख्ने जीवन्त माध्यम थिए। ‘हामी त्यसै आएनौँ, बलिराजाले पठाएको’ भन्दै घरधनीलाई दीर्घायु, सुख र समृद्धिको सच्चा आशिष् दिइन्थ्यो। त्यो देउसी–भैलोबाट दक्षिणास्वरुप उठ्ने चामल, धान, सेलरोटी र गच्छेअनुसारको रुपैयाँ–पैसा गाउँकै सामूहिक हितमा खर्चिन्थ्यो। कसैले बाटोघाटो खन्थे, कसैले पानीपँधेरो र कुलो मर्मत गर्थे, कतै विद्यालयका छाना छाउन सहयोग पुग्थ्यो त कतै बटुवा बस्ने पाटी–पौवा बन्थे। समाज जोड्ने र विकासको जग बसाल्ने त्यो एउटा बलियो सामाजिक अभियान थियो।
तर आज समय बदलिएको छ, अनि सँगै संस्कारको बाटो पनि भड्किएको छ। कात्तिकको उज्यालो पर्वमा आफ्नै लोकभाका हराएका छन्। देउसी–भैलोलाई केवल रकम असुल्ने माध्यम र कानै फुट्ने गरी डिजे बजाएर उफ्रिने बहाना बनाइएको छ। अझ दुःखद कुरा त, देउसी–भैलोबाट संकलित रकम गाउँका विकास र साझा हितमा लाग्नुको साटो डिजेको चर्को भाडा तिर्न, खानपिन र उच्छृङ्खल रमाइलोमै उडाएर सकिन थालेको छ। आफ्नै मौलिक देउडा, झ्याउरे, ख्याली र सोरठीलाई बिर्सेर अरूको नक्कलमा रमाउँदा हामीले आफ्नो पहिचान गुमाइरहेका छौँ भन्ने चेत नयाँ पुस्तामा हराउँदै जानु गम्भीर चिन्ताको विषय हो।
संस्कृति भनेको बाहिरी तडकभडक र देखावटी होइन; यो त हाम्रो पुर्खाको पसिना, स्थानीय जीवनशैली, आपसी भाइचारा र सामाजिक सद्भावको ऐना हो। डिजेको चर्को ध्वनिसँगै हराउँदै गएको हाम्रो मौलिकतालाई समयमै नफर्काउने हो भने भोलिका सन्ततिले देउसी र भैलो कस्तो हुन्थ्यो भनेर केवल इतिहासका पानामा खोज्नुपर्ने दिन आउन बेर छैन। तसर्थ, आफ्ना मौलिक रीतिरिवाज, चाडपर्व र परम्पराको जगेर्ना गर्न अब स्थानीय तह, बुद्धिजीवी, क्लब र समग्र समाजले नै अग्रसरता लिनुपर्छ। तिहारको वास्तविक उज्यालो भनेकै हाम्रो मौलिक पहिचानको संरक्षणमा छ- यो यथार्थलाई हामी सबैले समयमै बुझौँ र आफ्ना परम्परालाई जीवित राखौँ। तिहारकाे सबैलाइ शुभकामना ।