रुकुम पश्चिम, २३ कार्तिक । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५, नयाँडाँडामा सोमबार दिउँसो भएको जीप दुर्घटनामा परी एक १० वर्षीय बालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ।
कात्तिक २३ गते दिउँसो १२:०० बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको डबल क्याप जीप सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब ५० मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ बस्ने १० वर्षीय बालक हरिबहादुर थापा र सोही ठाउँका २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते हुने ६ जनामा सोही वडाका १९ वर्षीया जुनाकुमारी थापा, गाडी साहु ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा, ८ वर्षीय बालक युवराज थापा र ४ वर्षीया बालिका विरता थापा रहेका छन्। त्यस्तै २५ वर्षीया हिरा थापा र २ वर्षीय बालक गौरव थापा मध्यम घाइते भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्।
सामान्य र मध्यम अवस्थाका ६ जना घाइतेलाई दिउँसो १:२० बजे नै नगर अस्पताल राडी पुर्याएर उपचार सुरु गरिएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी गोतामकोट र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धार कार्य सम्पन्न गरेको छ। जीप चालक आठबिसकोट–४ का २५ वर्षीय प्रदिप विक दुर्घटनालगत्तै फरार भएकाले उनको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।