Loading

वीरेन्द्रनगरमा चलेको जुवाखालमा प्रहरीको छापा : ५५ जना पक्राउ, साढे १२ लाख नगद बरामद

वीरेन्द्रनगरमा चलेको जुवाखालमा प्रहरीको छापा : ५५ जना पक्राउ, साढे १२ लाख नगद बरामद

सुर्खेत, २३ कार्तिक । तिहारको अवसर पारेर प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न स्थानमा हारजित हुने गरी ठूलो रकमको बाजी राखेर कौडा तथा तास खेलिरहेका ५५ जना जुवाडेलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र ५३ गड्डी ताससमेत बरामद गरिएको छ।

कात्तिक २२ गते वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा नगद हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले विशेष अपरेसन चलाएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी विपद् व्यवस्थापन गण, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न घर तथा डेरामा एकैसाथ छापा मारेको थियो।

खानतलासीका क्रममा जुवाको खालबाट नेपाली १२ लाख ३२ हजार ८४५ रुपैयाँ र भारतीय रुपैयाँ १३ हजार १२५ (नेपाली २१ हजार रुपैयाँ) गरी कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। साथै खालबाट ५२ पत्तिको ५३ गड्डी ताससमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेहरूमा जुवा खेलाउने घरधनीहरू वीरेन्द्रनगर–४ का ३५ वर्षीय सुशिल भारद्वाज (भारती) र वडा नं. ७ का १८ वर्षीय सुदिप कसेरासमेत रहेका छन्। यसबाहेक सुर्खेतका स्थानीय बासिन्दा, दैलेखका हिम्मत शाही, जुम्ला गुठीचौरका गोविन्दप्रसाद प्याकुरेल, बर्दिया बाँसगढीका अर्जुन शाही, अर्घाखाँचीका रागु सुनार, कैलालीका लम्कीचुहा र मोहन्यालका बासिन्दा तथा भारतको मोतिहारी घर भई वीरेन्द्रनगर बस्दै आएका सोनु गुप्ता र राजेश कुमारसहित ५५ जना रहेका छन्।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता एवं सूचना अधिकारी (प्रहरी निरीक्षक) दिपक मगराठीले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार