Loading

वीरेन्द्रनगरमा LP ग्यास अभाव: राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुगमन सुरु, संलग्नलाई कारबाही गर्ने चेतावनी

वीरेन्द्रनगरमा LP ग्यास अभाव: राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुगमन सुरु, संलग्नलाई कारबाही गर्ने चेतावनी

सुर्खेत ८ साउन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केही दिनदेखि देखिएको खाना पकाउने एलपी (LP) ग्यासको अभावबारे राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गर्दै अनुगमन थालेको छ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, सुर्खेतको एक अनुगमन टोलीले ८ गते शुक्रबार बजारमा ग्यास अभाव हुनुको वास्तविक कारण र नागरिकको मौलिक अधिकारमा परेको असरबारे प्रारम्भिक अनुगमन सुरु गरेको हो।

अनुगमनका क्रममा आयोगको टोलीले नेपाल आयल निगम सुर्खेत डिपो, स्थानीय एलपी ग्यास विक्रेता, उपभोक्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेट गरी वस्तुस्थितिबारे विस्तृत जानकारी लिएको छ। बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हो वा आपूर्तिमै समस्या आएको हो भन्ने विषयमा सूक्ष्म छानबिन भइरहेको आयोगले जनाएको छ।

अनुगमनबारे जानकारी दिँदै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख रमेश कुमार थापाले आम उपभोक्ताको दैनिक जीवनसँग जोडिएको अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध पुग्नु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको बताउनुभयो। थापाले भन्नु भयाे “हामीले आयल निगम, ग्यास व्यवसायी र सर्वसाधारणसँग भेटेर वस्तुस्थिति बुझिरहेका छौँ। यदि कसैले कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई सास्ती दिएको पाइएमा अनुगमनको अन्तिम प्रतिवेदन तयार गरी दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ।”

वीरेन्द्रनगरमा केही दिनयता ग्यास नपाउँदा सर्वसाधारण, होटेल व्यवसायी तथा विशेष गरी डेरा गरी बस्ने विद्यार्थीहरू चरम मर्कामा परेका छन्। ग्यास डिपोहरूमा सर्वसाधारणको लामो लाइन लाग्ने गरेको र रित्तो सिलिन्डर लिएर फर्कनुपर्ने बाध्यता सिर्जना भएको छ।

आयोगले अनुगमनपश्चात् ग्यास आपूर्ति सहज बनाउन र पारदर्शी वितरण प्रणाली लागू गराउन स्थानीय प्रशासन र आयल निगमलाई आवश्यक निर्देशनसमेत दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार