कञ्चनपुर १८ असार । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौज सम्बन्धी मुद्दा अदालतमा चलिरहेको थियो।
उक्त मुद्दामा अदालतले सुनुवाइ गर्दै भण्डारीलाई एक महिना ७ दिन कैद सजाय र जरिवाना गर्ने फैसला सुनाएको थियो। सोही अदालती फैसलाको पूर्ण कार्यान्वयनका लागि प्रहरीले बिहीबार यो कदम चालेको डीएसपी रावतले जानकारी दिनुभयो। पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी कैद भुक्तान तथा फैसला कार्यान्वयनका लागि अदालत पुर्याएकाे प्रहरीले जनाएको छ।