मान्म (कालीकोट), १३ वैशाख । कालीकोटमा भर्खरै सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू अब प्रदेश स्तरीय प्रतिस्पर्धाका लागि सुर्खेत जाने भएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषदले एक पत्र जारी गर्दै आगामी वैशाख २७ देखि २९ गतेसम्म वीरेन्द्रनगर सुर्खेतमा प्रदेश स्तरीय छनौट प्रतियोगिता आयोजना हुने जानकारी दिएको छ। काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय स्तरको प्रतियोगितामा कर्णाली प्रदेशको बलियो उपस्थिति जनाउन यो छनौट खेल आयोजना गर्न लागिएको हो।
वैशाख २६ गतेभित्र सुर्खेत पुग्नुपर्ने
परिषदले कालीकोटसहित कर्णालीका १० वटै जिल्लाका सामाजिक विकास कार्यालयहरूलाई पत्राचार गर्दै छनौट भएका खेलाडीहरूको नामावली वैशाख २० गतेभित्र पठाइसक्न निर्देशन दिएको छ। जिल्लाबाट छनौट भएका खेलाडी र टिमलाई वैशाख २६ गते साँझ ५ बजेसम्म अनिवार्य रूपमा सुर्खेत पुर्याउनुपर्नेछ।
खेलाडीको सेवा सुविधा र व्यवस्थापन
यातायात र पोशाक: खेलाडीहरूलाई सुर्खेत पुर्याउने, फिर्ता लैजाने र खेल पोशाक उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित जिल्लाकै हुनेछ। यसका लागि परिषदले खेलाडी संख्याका आधारमा बढीमा ५ लाख रुपैयाँसम्मको बजेट सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयलाई पेश्की उपलब्ध गराउने व्यवस्था गरेको छ।
खाना र आवास: प्रतियोगिता अवधिभर सहभागी खेलाडी तथा टिमलाई खाजा, खाना, आवास र स्थानीय यातायात बापत प्रतिव्यक्ति दैनिक १,२०० रुपैयाँका दरले भुक्तानी गरिने परिषदका सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिनुभएको छ।
जिल्लामा ह्याट्रिक जित निकालेको तिलागुफा नगरपालिका लगायतका अन्य पालिकाका प्रतिभावान खेलाडीहरूका लागि यो प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने महत्वपूर्ण अवसर हो। परिषदले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन निर्देशिका २०७७ (पाँचौँ संशोधन) बमोजिम यो छनौट प्रक्रिया अघि बढाएको हो।