नरहरिनाथ (कालीकोट), ११ वैशाख । कालीकोटको नरहरिनाथ गाउँपालिकामा सञ्चालित १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजो बिहीबार भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाका ९ वटै स्थानीय तहको सहभागिता रहेको उक्त प्रतियोगितामा १५ स्वर्ण पदकसहित तिलागुफा नगरपालिकाले च्याम्पियन बन्दै रनिङ शिल्ड हात पारेको छ।
पदक तालिकाको अन्तिम नतिजा: अन्तिम नतिजा अनुसार तिलागुफा नगरपालिका १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी कुल ३१ पदक जित्दै जिल्लामै प्रथम हुन सफल भएको छ। प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल १२ पदक जितेर पलाँता गाउँपालिका द्वितीय भएको छ। आयोजक नरहरिनाथ गाउँपालिकाले ३ स्वर्ण, १२ रजत र ९ कास्य गरी कुल २४ पदकका साथ तृतीय स्थान सुरक्षित गरेको छ।
यसैगरी पचालझरना गाउँपालिकाले ३ स्वर्ण जित्दा महाबै गाउँपालिकाले २ स्वर्ण, सान्नी त्रिवेणीले १ र खाँडाचक्र नगरपालिकाले १ स्वर्ण पदक प्राप्त गरेका छन्। रास्कोट नगरपालिका र शुभकालिका गाउँपालिकाले भने स्वर्ण पदक जित्न सकेनन्। रास्कोटले २ रजत र ५ कास्यमा चित्त बुझाएको छ भने शुभकालिका पदकविहीन बनेको छ।
विजेतालाई सम्मान प्रतियोगिता समापनका अवसरमा विजयी खेलाडी तथा पालिकाहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै आयोजकले खेलकुदले युवाहरूको अनुशासन र व्यक्तित्व विकासमा टेवा पुर्याउने भन्दै आगामी दिनमा थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए। यहाँ छनौट भएका उत्कृष्ट खेलाडीहरूले अब प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कालीकोट जिल्लाको प्रतिनिधित्व गर्नेछन्।
🏆 १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड: पदक तालिका