Loading

कर्णाली प्रदेश अस्पतालमा मन्त्री बादीको अनुगमन : सेफ हाउस र २४ घण्टे हटलाइन प्रभावकारी बनाउन कडा निर्देशन

कर्णाली प्रदेश अस्पतालमा मन्त्री बादीको अनुगमन : सेफ हाउस र २४ घण्टे हटलाइन प्रभावकारी बनाउन कडा निर्देशन

सुर्खेत, २३ कार्तिक । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले कर्णाली प्रदेश अस्पताल सुर्खेत र अस्पताल हाताभित्र सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) तथा सामाजिक सुरक्षा एकाइ (SSU) को स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले हिंसापीडितका लागि सुरक्षित आवास (सेफ हाउस) को भरपर्दो व्यवस्था मिलाउन र २४ सै घण्टा सेवा दिने गरी हटलाइन सक्रिय बनाउन कडा निर्देशन दिनुभयो।

अस्पताल पुग्नुभएकी मन्त्री बादीलाई अस्पतालका निर्देशक डा. गणेश थापाले समग्र स्वास्थ्य सेवा प्रवाह, उपचार व्यवस्थापन तथा जनशक्तिबारे जानकारी गराउनुभएको थियो। त्यस्तै ओसीएमसीकी फोकल पर्सन कल्पना थापाले हिंसा तथा दुर्व्यवहारबाट प्रभावित महिला, बालबालिका र अन्य लक्षित समुदायलाई एकै थलोबाट स्वास्थ्य परीक्षण, उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता तथा पुनःस्थापनाका लागि भइरहेका कार्य र भोग्नुपरेका व्यावहारिक कठिनाइहरूबारे अवगत गराउनुभयो।

सेवा प्रवाहको प्रत्यक्ष अवस्था अवलोकन गरेपछि मन्त्री बादीले हिंसापीडित महिला तथा बालबालिकाको तत्काल संरक्षणका लागि प्रभावकारी सेफ हाउस अनिवार्य रहेको बताउनुभयो। पीडितले जोखिमपूर्ण अवस्थामा केही दिन ढुक्कसँग बस्न सक्ने सुरक्षित वातावरण सुनिश्चित हुनुपर्नेमा उहाँको जोड थियो।

साथै, विपद् वा आपत्कालीन अवस्थामा परेका जो-कोहीले पनि जुनसुकै समयमा सहजै सहायता माग्न सक्ने गरी हटलाइन सेवालाई २४ सै घण्टा सक्रिय, द्रुत र उत्तरदायी बनाउन उहाँले सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो। अस्पतालमा देखिएको चिकित्सक, स्वास्थ्यकर्मीको दरबन्दी अभाव, उपचार कक्ष तथा आवश्यक भौतिक पूर्वाधारको समस्या सम्बोधन गर्न मन्त्रालय तहबाट पहल गरिने प्रतिबद्धता जनाउँदै मन्त्री बादीले लक्षित वर्गले सुरक्षित, सम्मानजनक र झन्झटरहित सेवा पाउनुपर्ने स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार