Loading

दैलेख बोलेरो दुर्घटना अपडेट : चालकसहित दुई जनाको मृत्यु, ४ जनाको उपचार हुँदै

दैलेख बोलेरो दुर्घटना अपडेट : चालकसहित दुई जनाको मृत्यु, ४ जनाको उपचार हुँदै

दैलेख, २३ कार्तिक । कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीमा बिरामी बोकेर जाँदै गर्दा भीरबाट खसेको बोलेरो जिपका चालकसहित दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका चालक र एक यात्रुलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेहरूमा बोलेरो चालक कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा र सान्नीत्रिवेणी–६ का ४१ वर्षीय रने सार्की रहेका छन्।

आज बिहान करिब ५:३० बजे कालीकोटबाट अक्सिजन सपोर्टसहित बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बोलेरो जिप काफलतोलीस्थित सडकबाट अनियन्त्रित भई करिब दुई सय मिटर तल भीरमा खसेको थियो। जिपमा विषादी सेवन गरी गम्भीर बिरामी भएकी सान्नीत्रिवेणी–६ की २७ वर्षीया कैसि सार्कीलाई थप उपचारका लागि सुर्खेत लगिँदै थियो।

दुर्घटनामा परी घाइते भएका अन्य चार जनाको हाल कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। उपचाररत घाइतेहरूमा सान्नीत्रिवेणी–७ का १८ वर्षीय गङ्ग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, सान्नीत्रिवेणी–६ की ३६ वर्षीया जादुकाल सार्की र बिरामी कैसि सार्की रहेका छन्।

घटनालगत्तै प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको कमान्डमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा भिरबाट घाइतेहरूको उद्धार गरी सुर्खेत पठाएको थियो। दुवै मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार