कालीकोट भाद्र २४ गते । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) मा नयाँ पदाधिकारीहरूको नियुक्ति गरिएको छ। प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक नेतृत्वलाई सुदृढ बनाउँदै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ टोली चयन गरिएको हो।
प्रतिष्ठानको रजिस्ट्रार पदमा प्रकाशचन्द्र खत्री नियुक्त हुनुभएको छ भने रेक्टरको जिम्मेवारी धर्म सुवेदीले पाउनुभएको छ। त्यसैगरी प्रतिष्ठानको डीन पदमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशक (डाइरेक्टर) मा डा. विनम्र विष्ट नियुक्त हुनुभएको छ।
कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको मुख्य आधारस्तम्भ मानिएको यस प्रतिष्ठानमा नयाँ तथा दक्ष नेतृत्व आएसँगै शिक्षण, अनुसन्धान तथा स्वास्थ्य सेवा प्रवाहमा थप गुणस्तरीयता आउने अपेक्षा गरिएको छ। नवनियुक्त सम्पूर्ण पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै स्थानीय तह, नागरिक समाज तथा सरोकारवालाहरूले सफल र उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गरेका छन्।