काठमाडौँ ११ भाद्र । जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टामा देशका विभिन्न भागमा हल्कादेखि भारीसम्म वर्षा भएको छ। बिहीबार बिहान ६:४० बजे जारी विवरण अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सुदूरपश्चिम प्रदेशको डोटीस्थित झिग्रानामा ९७.६ मिलिमिटर रेकर्ड गरिएको छ।
यसैगरी सिन्धुपाल्चोक, काठमाडौँ, तनहुँ र चितवन आसपासका धेरैजसो स्थानमा हल्कादेखि मध्यम र एक-दुई ठाउँमा भारी वर्षा भएको छ। बाढी प्रभावित क्षेत्रहरू रसुवा, धादिङ र नुवाकोट जिल्लाका थोरै स्थानहरूमा भने मध्यमसम्म मात्र पानी परेको विभागले जनाएको छ।
हाल वर्षाको मुख्य प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रित रहेको र ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सर्वसाधारण तथा स्थानीय प्रशासनलाई जल तथा मौसम विज्ञान विभागको सूचना र सतर्कता सन्देशहरूमा विशेष ध्यान दिन आग्रह गरिएको छ।