मान्मा, कालीकोट १० भाद्र । जनैपूर्णिमाको अवसरमा कालीकोट जिल्लाका मुख्य धार्मिक तथा पर्यटकीय मेलाहरूलाई शान्तिपूर्ण, सभ्य, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय कालीकोटले मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा उपभोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।
प्रशासनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै यही भदौ १२ गते कालीकोटका प्रसिद्ध तीर्थस्थलहरू बडिमालिका, चुलीमालिका, पुगमालिका, देउरामालिका र महावु लेक लगायतका स्थानमा लाग्ने मेला क्षेत्र वरपर मदिराजन्य पदार्थ बिक्री वितरण, ओसारपसार र प्रयोग नगर्न कडा निर्देशन दिएको हो।
मेला स्थल जाने पदमार्गका विभिन्न स्थानहरूमा सुरक्षा निकायबाट कडा सुरक्षा चेकजाँच गरिनेछ। सुरक्षा चेकजाँचका क्रममा कुनै पनि व्यक्ति वा समूहले मदिराजन्य पदार्थ ओसारपसार वा प्रयोग गरेको भेटिएमा तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माद्वारा जारी सूचनामा उल्लेख छ।
प्रशासनले मेलालाई अनुशासित र शान्तिपूर्ण बनाउन सम्पूर्ण सर्वसाधारण, भक्तजन तथा सरोकारवाला निकायहरूलाई पूर्ण सहयोग गर्न अपिल गरेको छ।