काठमाडौँ ९ भाद्र । नेपालमा इन्टरनेट र प्रविधिको विस्तारसँगै साइबर अपराधको स्वरूप डरलाग्दो गरी फेरिएको छ। कुनै समय फेसबुक र मेसेन्जरमा सीमित रहने अनलाइन अपराध अहिले टिकटक, ह्वाट्सएप, टेलिग्राम र विभिन्न डिजिटल वालेटहरूतर्फ तीव्र रूपमा सरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको तथ्याङ्क अनुसार सर्वसाधारणको सानो अज्ञानता र क्षणिक लोभका कारण दैनिक सयौँ नागरिक ठगी र मानमर्दनको सिकार भइरहेका छन्।
प्रहरी भन्छ: “क्षणिक लोभ र अपरिचितको विश्वास नै ठगीको मुख्य कारण” साइबर अपराधको बढ्दो जोखिम र जोगिने उपायबारे साइबर ब्युरो कार्यालय भोटाहिटी काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (SP) दिलीप कुमार गिरी भन्नुहुन्छ:
“अहिले सामाजिक सञ्जालमा सस्तो मूल्यमा सामान दिने प्रलोभन देखाएर अनलाइन सपिङ ठगी, घरमै बसेर पैसा कमाउने (‘वर्क फ्रम होम’) नाममा टेलिग्राम वा ह्वाट्सएपमार्फत लगानी गराउने र बैंकको कर्मचारी बनेर केवाईसी (KYC) अपडेट गर्ने बहानामा ओटीपी (OTP) वा स्क्रिन सेयर गराई खाताको रकम उडाउने गिरोह सक्रिय छन्। मानिसहरूमा विनाहिसाब छिटो पैसा कमाउने लोभ र अपरिचित व्यक्तिलाई सजिलै विश्वास गर्ने बानीका कारण यस्ता ठगी बढेका हुन्। अनलाइन खरिद गर्दा सधैँ ‘क्यास अन डेलिभरी’ प्रयोग गरौँ। आफ्नो ओटीपी, पासवर्ड, वा स्क्रिन सेयर कसैसँग नगर्नुहोस्। कुनै पनि शङ्कास्पद अफर वा लोभमा नपरी प्रविधि प्रयोग गर्दा उच्च सतर्कता अपनाउनु नै साइबर अपराधबाट जोगिने उत्तम उपाय हो।”
तस्बिर बिगार्नेदेखि फिरौतीसम्म: यस्ता छन् हालका मुख्य साइबर अपराध
साइबर ब्युरोका अनुसार हाल समाजमा फोटो बिगारेर (Photo Mutilation) नग्न तस्बिरमा अनुहार जोडी ब्ल्याकमेल गर्ने, बदला लिन अश्लील सामग्री सार्वजनिक गर्ने (Revenge Porn), संस्था वा व्यक्तिको डेटा नियन्त्रणमा लिई फिरौती माग्ने (Ransomware Attack), र अरूको नाममा नक्कली प्रोफाइल (Defamation Imposter) बनाएर दुःख दिनेजस्ता गम्भीर अपराध भइरहेका छन्।