सुर्खेत, २७ साउन । भौतिक पूर्वाधारका हिसाबले प्रदेशकै उत्कृष्ट मानिने कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप अनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा सास्ती थपिएको छ। कर्णालीका १० वटै जिल्ला र सुदूरपश्चिमका पहाडी क्षेत्रबाट समेत गरी दैनिक औसत दुई हजारभन्दा बढी बिरामी ओपीडीमा आउने यस अस्पतालमा हाल चिकित्सकसहित ८३ वटा दरबन्दी रिक्त छन्।
अस्पतालले धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको सहयोगमा नौ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने आफ्नै हेलिप्याड निर्माण गरी पछिल्लो तीन महिनामा दुर्गमका ३९ जना सुत्केरीको हवाई उद्धार गरी सफल उपचार गरेको छ। तर, विशिष्टीकृत सेवा विस्तार भए पनि जनशक्ति अभावका कारण बिरामीले घण्टौँ लाइनमा बस्नुपर्ने र स्वास्थ्य बीमाका सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने बाध्यता छ।
एउटै चिकित्सकले ओपीडी र शल्यक्रिया दुवै सम्हाल्नु पर्दा सेवा प्रभावित भएको छ। जनशक्ति अभावकै कारण विगत एक महिनादेखि नियमित सञ्चालनमा रहेका कार्डियोलोजी, प्याथोलोजी र न्युरोलोजीजस्ता विशेषज्ञ सेवासमेत प्रभावित भएका छन्।
सरकारले १५० शय्याका आधारमा ३२५ जनाको दरबन्दी स्वीकृत गरे पनि बिरामीको चापका कारण अस्पतालले हाल २९९ शय्या सञ्चालन गरिरहेको छ। रिक्त पदपूर्तिका लागि प्रदेश सरकारलाई लिखित जानकारी गराइसकिएको अस्पताल प्रशासनले जनाएको छ।