दैलेख ८ साउन । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल एसबिआई बैंक लिमिटेडको सहकार्यमा दैलेखका विभिन्न तीन वटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरिएको छ।
ईश्वरी आधारभूत विद्यालय साँडुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्की प्रमुख अतिथि रहेकी थिइन्।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार बि.क. लगायतको उपस्थिति रहेको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो कार्यक्रममार्फत नारायण नगरपालिका-९ स्थित ईश्वरी आधारभूत विद्यालय, दुल्लु नगरपालिका-७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय र नारायण नगरपालिका-१ स्थित श्री बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहन पुग्ने उद्देश्यले शैक्षिक सामग्री तथा स्कुल ब्याग प्रदान गरिएको हो।