सुर्खेत, ६ साउन । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दुई इलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। डीआईजी सापकोटाले सल्यानस्थित इलाका प्रहरी कार्यालय रागेचौर र सुर्खेतस्थित इलाका प्रहरी कार्यालय बादेपिपलको समग्र वस्तुस्थितिको अनुगमन गरेका हुन्।
निरीक्षणका क्रममा उनले कार्यालय भवन परिसर, शाखाहरूको अवस्था, उपलब्ध स्रोत-साधनको प्रयोग, नवप्रवर्द्धनात्मक (नवीन) कार्यहरू तथा कार्यालयबाट सम्पादित दैनिक काम-कारबाही, सेवा प्रवाह र नागरिकका गुनासो सम्बोधनको अवस्थाबारे विस्तृत जानकारी लिएका थिए।
अनुगमन पश्चात् दुवै कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै डीआईजी सापकोटाले प्रहरी सेवाको साख अभिवृद्धि गर्ने गरी काम गर्न निर्देशन दिए। उनले नागरिकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाउनका लागि पेसागत निष्ठा, व्यावसायिक दक्षता र उच्च नैतिक आचरणका साथ आफ्नो कर्तव्य पालना गर्न प्रहरी जनशक्तिलाई विशेष जोड दिएका छन्।