Loading

अब घरबाटै ‘इ-एनआइडी’ डाउनलोड गर्न सकिने, राष्ट्रिय परिचयपत्र विभागद्वारा सेवा सुरु

अब घरबाटै ‘इ-एनआइडी’ डाउनलोड गर्न सकिने, राष्ट्रिय परिचयपत्र विभागद्वारा सेवा सुरु

काठमाडौँ, ५ असार । सरकारले नागरिकहरूलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले घरबाटै प्रविधिको प्रयोग गरी अस्थायी राष्ट्रिय परिचयपत्र (eNID) डाउनलोड गर्न सकिने नयाँ सेवाको सुरुवात गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्य सूची अन्तर्गतको बुँदा २ मा उल्लेखित योजना अनुसार यो सेवा सञ्चालनमा ल्याएको हो। विभागले मिति २०८३ असार ४ गते एक सूचना जारी गर्दै आफ्नो ‘सिटिजन पोर्टल’ मार्फत परीक्षणका रूपमा यो डिजिटल सेवा सुरु गरिएको जनाएको छ।

यो व्यवस्था लागू भएसँगै राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकहरूले अब राष्ट्रिय परिचयपत्र कार्डको भौतिक प्रति (Hard Card) लिन लामो समय पर्खिनुपर्ने बाध्यता अन्त्य भएको छ। सेवाग्राहीले विभागको सिटिजन पोर्टलमा गएर आफ्नो सामान्य व्यक्तिगत विवरणहरू प्रविष्ट गरी फोटो र अनलाइनबाटै रुजु गर्न मिल्ने ‘क्यूआर कोड’ (Online Verifiable QR Code) सहितको ‘पासवर्ड प्रोटेक्टेड’ डिजिटल परिचयपत्र (eNID) तुरुन्तै डाउनलोड गर्न सक्नेछन् ।

कसरी गर्ने eNID डाउनलोड ? (कार्यविधि) विभागले सर्वसाधारणको सहजताका लागि इ-एनआइडी डाउनलोड गर्ने चरणबद्ध प्रक्रिया (User Manual) समेत सार्वजनिक गरेको छ । डाउनलोड गर्नका लागि निम्न प्रक्रिया अपनाउनुपर्नेछ:

जुनसुकै वेब ब्राउजरमा गएर citizenportal.donidcr.gov.np लगइन गर्ने र ‘Download Your eNID’ मा क्लिक गर्ने ।

आफ्नो राष्ट्रिय परिचयपत्रमा उल्लेख भए बमोजिमको पूरा नाम (नेपाली वा अङ्ग्रेजीमा), जन्म मिति र नागरिकता जारी भएको मिति प्रविष्ट गरी ‘क्याप्चा कोड’ राखेर अगाडि बढ्ने ।

त्यसपछि स्क्रिनमा व्यक्तिगत विवरण र राष्ट्रिय परिचय नम्बर देखा पर्नेछ, जहाँ रहेको ‘कार्ड डाउनलोड गर्नुहोस्’ बटनमा क्लिक गर्नुपर्नेछ ।

डाटा सुरक्षाका लागि पीडीएफ (PDF) फाइललाई सुरक्षित र पासवर्ड प्रोटेक्टेड बनाउन प्रणालीले पुनः नेपालीमा पूरा नाम माग गर्नेछ, सो नाम प्रविष्ट गरेपछि फाइल डाउनलोड हुन्छ ।

डाउनलोड भएको पीडीएफ फाइल खोल्नका लागि आफ्नो अङ्ग्रेजी नामको अगाडिका ४ वटा अक्षरहरू ठुलो लिपि (Capital Letters) मा र आफ्नो नेपाली जन्म वर्ष (वि.सं.) पासवर्डका रूपमा राख्नुपर्नेछ (उदाहरणका लागि: नाम SUNITA र जन्म वर्ष २०४२ भएमा पासवर्ड SUNI2042 हुनेछ) ।

पासवर्ड राखेर सबमिट गरेपछि इ-एनआइडी प्राप्त हुनेछ, जसलाई आवश्यकता अनुसार प्रिन्ट गरेर वा मोबाइलमा सुरक्षित राख्न सकिनेछ।

क्यूआर कोड स्क्यान गरेर विवरण रुजु गरिने विभागले सम्पूर्ण सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था एवं सरोकारवाला संस्थाहरूलाई अब उप्रान्त यसरी डाउनलोड गरिएको इ-एनआइडी कार्डका आधारमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । यसअघि प्रिन्ट गरिएको कागजको निस्सा हेरेर सेवा दिने गरिएकोमा अबदेखि इ-एनआइडी कार्डमा उपलब्ध रहेको ‘QR Code’ लाई मोबाइल वा क्यूआर स्क्यानरको माध्यमबाट स्क्यान गरी नागरिकको विवरणहरू सरकारी प्रणालीसँग रुजु गरेर मात्र सेवा प्रवाह गर्न विभागले निर्देशन दिएको छ । यस सम्बन्धी थप जानकारी तथा सोधपुछका लागि विभागको टोल फ्री नम्बर १६६००१९६६६६ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार