मान्म (कालीकोट), १० वैशाख । नेपाल क्रिकेट संघ (क्यान) को राष्ट्रिय कार्यक्रम अनुसार कालीकोटमा ‘नेसनल स्कुल च्याम्पियनसिप’ (National School Championship) का लागि जिल्ला स्तरीय क्रिकेट छनौट प्रतियोगिता आयोजना हुने भएको छ। कालीकोट जिल्ला क्रिकेट संघले आज एक सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।
यस छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले राष्ट्रिय स्तरको विद्यालय च्याम्पियनसिपमा जिल्लाको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
प्रतियोगिताको विस्तृत विवरण:
मिति: २०८३ वैशाख १७ र १८ गते।
समय: बिहान ९ बजेदेखि।
स्थान: चुलिमालिका मा.वि., घोडेनाको प्राङ्गण, कालीकोट।
सहभागिताका लागि आवश्यक प्रक्रिया:
सहभागी हुन चाहने विद्यालयहरूले वैशाख १६ गते दिउँसो ४ बजेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। दर्ताका लागि विद्यालयको लेटर प्याडमा खेलाडीको नामावली, विद्यालयमा अध्ययनरत रहेको प्रमाण खुल्ने कागजात र २०८१ को SEE दिएका विद्यार्थीको हकमा प्रवेश पत्र अनिवार्य गरिएको संघका अध्यक्ष खड्ग जंग शाहीले जानकारी दिनुभएको छ।
जिल्लाका दूरदराजमा रहेका प्रतिभावान क्रिकेट खेलाडीहरूलाई पहिचान गर्न र उनीहरूलाई राष्ट्रिय मूलधारमा जोड्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। थप जानकारीका लागि संघका प्रतिनिधिहरू खड्ग जंग शाही र पवन बमलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।