काठमाडौँ १ साउन । सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन र नवीकरण गर्न कार्यालयमै पुगेर घण्टौँ लाइन बस्नुपर्ने सास्तीबाट अब नागरिकले मुक्ति पाउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले आगामी २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी चालक अनुमति पत्रको आवेदन र नवीकरण प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री र अनलाइन प्रणालीमा आवद्ध गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्था लागू भएसँगै आवेदन फारम भर्नेदेखि राजस्व भुक्तानीसम्मका सबै कार्यहरू अनलाइनमार्फत नै घरमै बसेर गर्न सकिनेछ।
विभागले सार्वजनिक गरेको नयाँ कार्यविधि अनुसार अब सेवाग्राहीले फारम भर्दा व्यक्तिगत विवरणहरू हातले टाइप गरिरहनुपर्ने झन्झट रहने छैन। सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र (National ID) र नागरिक एप (Nagarik App) मा रहेको क्युआर कोड स्क्यान गरी ‘अटोफिल’ (Autofill) प्रविधिमार्फत फारम स्वतः भरिने व्यवस्था मिलाइएको छ। यस प्रविधिले गर्दा फारम भर्दा विवरणहरू गलत प्रविष्टि हुने सम्भावना अन्त्य हुने र सेवाग्राहीको समयको समेत ठूलो बचत हुने विभागले जनाएको छ। यद्यपि, यो प्रविधि प्रयोग गर्न नसक्ने वा अन्य सेवाग्राहीको हकमा भने साविककै व्यवस्था अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारिएको छ।
अनलाइन प्रणालीलाई प्रादेशिक संरचना अनुसार व्यवस्थित बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै वेबसाइटहरू समेत सञ्चालनमा ल्याइएको छ। कोशी प्रदेशका लागि edlvrs.koshi.gov.np, मधेसका लागि edlvrs.madhesh.gov.np, बागमतीका लागि edlvrs.bagmati.gov.np, गण्डकीका लागि edlvrs.gandaki.gov.np, लुम्बिनीका लागि edlvrs.lumbini.gov.np, कर्णालीका लागि edlvrs.karnali.gov.np र सुदूरपश्चिम प्रदेशका लागि edlvrs.sudurpashchim.gov.np मार्फत अनलाइन फारम भर्न सकिनेछ।

नयाँ अनलाइन प्रणाली कार्यान्वयनका क्रममा सेवाग्राहीलाई कुनै समस्या, गुनासो वा सुझाव भएमा सिधै विभागको आधिकारिक इमेल gunaso@dotm.gov.np मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। यसका साथै सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूमा समेत इमेल र मोबाइल नम्बरमार्फत सिधा सम्पर्क गरी गुनासो दर्ता गराउन सकिनेछ। जसका लागि कोशी प्रदेशमा mopid@koshi.gov.np (९८४४०१८२५५), मधेस प्रदेशमा info.molt@madhesh.gov.np (९८११९७२९९९), बागमती प्रदेशमा license.hetaudayatayat@bagmati.gov.np (०५७-५२६१५८), गण्डकी प्रदेशमा tmodl.kaski@gmail.com (९८४४०१८२५५), लुम्बिनी प्रदेशमा tmo.lumbinilicense@gmail.com (९८५७०४७७५८), कर्णाली प्रदेशमा mopidskt@gmail.com (९८४३५०९७११) र सुदूरपश्चिम प्रदेशका लागि info@mopit.gov.np (९८५८४८०२१२) मा सम्पर्क गर्न सकिनेछ।
अनलाइन सेवालाई थप प्रभावकारी बनाउन र सेवाग्राहीलाई तत्काल आइपर्ने प्राविधिक समस्या समाधान गर्न विभागले सम्पर्क व्यक्ति समेत तोकेको छ। सेवाग्राहीले विभागका कर्मचारी युकेश चौधरीलाई ९८४८९०६५२८ मा र रेनु आचार्यलाई ९८६१५४९८६८ मा सिधै सम्पर्क गरी प्राविधिक सहजीकरण लिन सक्नेछन् भने कार्यालयको फोन नम्बर ४५७४९२१ र ४५७४९२२ मा समेत सम्पर्क गरी जानकारी लिन सकिनेछ। सरकारी सेवालाई पूर्ण रूपमा डिजिटल बनाई बिचौलियाको अन्त्य गर्न र प्रशासनिक झन्झट घटाउन विभागले चालेको यो कदमलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छन्।