Loading

बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण: नयाँ आर्थिक वर्षका लागि सरकारलाई कानुनी बाटो खुला

बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण: नयाँ आर्थिक वर्षका लागि सरकारलाई कानुनी बाटो खुला

काठमाडौँ ३० असार । संघीय संसदको दुवै बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका बजेटसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकहरू सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज मिति २०८३ साल असार ३० गते मङ्गलवारका दिन बजेट पारित गर्नेसम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै विधेयकहरू प्रमाणीकरण भएका हुन्। राष्ट्रपतिबाट विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ प्रमाणीकरण भएसँगै अब पूर्ण रूपमा कानुनका रूपमा लागु भएका छन्।

संसदबाट पारित भएका यी तीनवटै विधेयकहरू राष्ट्रपति कार्यालयबाट लालमोहर लागेसँगै अब नयाँ आर्थिक वर्षका लागि सरकारलाई बजेट खर्च गर्ने, आन्तरिक ऋण उठाउने र राजस्व संकलन गर्ने पूर्ण कानुनी बाटो खुला भएको छ। यस प्रमाणीकरणले आगामी आर्थिक वर्षको सरकारी खर्च र समग्र देशको वित्तीय चक्रलाई व्यवस्थित रूपमा अघि बढाउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार