कालीकोट २८ असार । कालीकोटको शुभकालिका गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत योजना तथा कार्यक्रमहरूको सम्पूर्ण भुक्तानी कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिकाले निर्धारित समयभित्र कार्यालय समक्ष पेस हुन आएका सबै कारोबारहरूको भुक्तानी कार्य फराकिलो ढङ्गले सम्पन्न भएको जानकारी दिएको हो।

गाउँपालिकाद्वारा सार्वजनिक गरिएको समष्टीगत प्रगति विवरण अनुसार चालु आर्थिक वर्षमा शुभकालिकाको औसत वित्तीय प्रगति ६९.४९ प्रतिशत रहेको छ। जसमध्ये प्रशासनिक तथा सेवा सञ्चालनतर्फ (चालु) ७९.६५ प्रतिशत बजेट खर्च भएको छ भने विकास निर्माण तथा पूर्वाधारतर्फ (पुँजीगत) ५२.३२ प्रतिशत मात्र बजेट खर्च हुन सकेको देखिन्छ।
यस अवधिभर नीति, योजना तथा बजेट निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गाउँपालिका प्रमुख, उपप्रमुख, सम्पूर्ण जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू र राष्ट्रसेवक कर्मचारीहरू प्रति गाउँपालिकाले विशेष आभार व्यक्त गरेको छ। साथै बजेट कार्यान्वयनमा प्रत्यक्ष जोडिने उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी, नागरिक समाज र सम्पूर्ण गाउँबासीलाई धन्यवाद ज्ञापन गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र प्रसाद चौलागाईं र आर्थिक प्रशासन शाखा प्रमुख रेखा खत्रीद्वारा प्रमाणित गरिएको यस विवरणसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षमा समेत बजेट तथा कार्यक्रम कार्यान्वयनमा सरोकारवालाहरूको सक्रिय सहभागिता, समन्वय र सहकार्यले उच्च कार्य सम्पादनमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।