Loading

तिलागुफाको स्याउ बाहिरी जिल्ला लैजान सिफारिस अनिवार्य, पालना गर्नुपर्नेछन् यी ३ प्रक्रिया

तिलागुफाको स्याउ बाहिरी जिल्ला लैजान सिफारिस अनिवार्य, पालना गर्नुपर्नेछन् यी ३ प्रक्रिया

कालीकोट २६ असार । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउलाई जिल्ला बाहिर ढुवानी तथा निकासी गर्नका लागि स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण गर्न र निकासी व्यवस्थापनलाई पारदर्शी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो।

नगरपालिकाले आज मिति २०८३ असार २६ गते एक अत्यन्त जरुरी सूचना जारी गर्दै स्याउ निकासी गर्न चाहने सम्पूर्ण कृषक, व्यवसायी तथा सरोकारवालाहरूलाई अनिवार्य रूपमा तोकिएको प्रक्रिया अपनाउन आह्वान गरेको छ। अबदेखि सिफारिस विना स्याउ बाहिर लैजान पाइने छैन।

निकासी प्रक्रियालाई व्यवस्थित गर्न नगरपालिकाले तीनवटा मुख्य चरणहरू तय गरेको छ, जसको पालना कृषक र व्यवसायीले अनिवार्य रूपमा गर्नुपर्नेछ:

निवेदन दर्ता: स्याउ ढुवानी तथा निकासी गर्नुभन्दा कम्तिमा ३ दिन अगावै कृषक वा व्यवसायीले स्याउको परिमाण र लैजाने गन्तव्य स्पष्ट खुलाई नगरपालिकाको कृषि सेवा केन्द्रमा रीतपूर्वकको निवेदन पेश गर्नु पर्नेछ।

प्राविधिक अनुगमन: निवेदन दर्ता भइसकेपछि नगरपालिकाका कृषि प्राविधिकहरूद्वारा स्थलगत रूपमा स्याउको गुणस्तर, परिमाण र त्यसमा हुन सक्ने रोग वा किराको अवस्थाबारे विस्तृत अनुगमन तथा निरीक्षण गरिनेछ।

सिफारिस पत्र जारी: प्राविधिक टोलीले तयार पारेको अनुगमन प्रतिवेदन र सिफारिसका आधारमा नियमानुसारको राजस्व जम्मा गरेपछि मात्रै कार्यालयबाट आधिकारिक ढुवानी निकासी सिफारिस पत्र प्रदान गरिनेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्ले र कृषि विकास अधिकृत गोविन्द भट्टद्वारा प्रमाणित गरिएको यो नयाँ व्यवस्थाले तिलागुफाको ब्राण्ड मानिने स्याउको बजार व्यवस्थापनलाई थप गुणस्तरीय र व्यावसायिक बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार