कालीकोट २६ असार । कालीकोटको तिलागुफा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले आर्थिक वर्षभरि स्वीकृत योजना तथा कार्यक्रमहरूका लागि निर्धारित समयमै कार्यालय समक्ष पेश हुन आएका सम्पूर्ण कारोबारहरूको भुक्तानी कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको हो।

नगरपालिकाद्वारा सार्वजनिक गरिएको समष्टिगत प्रगति विवरण अनुसार विनियोजित बजेटका आधारमा तिलागुफाको औसत प्रगति ७२.७७ प्रतिशत रहेको छ। जसमध्ये चालुतर्फ ७९.६७ प्रतिशत र पूँजीगत (विकास) तर्फ ६१.१४ प्रतिशत प्रगति हासिल भएको छ।
त्यसैगरी, प्राप्त निकासाको आधारमा हेर्ने हो भने नगरपालिकाको वित्तीय प्रगति अझ बढी अर्थात् ८८.०३ प्रतिशत पुगेको देखिन्छ। निकासाका आधारमा चालुतर्फ ९६.४९ प्रतिशत र पूँजीगततर्फ ७३.९६ प्रतिशत कार्य सम्पादन भएको तथ्याङ्कले देखाउँछ।
यस वर्ष तिलागुफाले आफ्नो आन्तरिक राजस्व संकलनमा पनि राम्रो सुधार गरेको छ। आर्थिक वर्षमा ३८ लाख ५० हजार रुपैयाँ आन्तरिक आय गर्ने अनुमान गरिएकोमा लक्ष्यको ८७.६० प्रतिशत अर्थात् ३३ लाख ७२ हजार ७ सय २९ रुपैयाँ ८७ पैसा संकलन भइसकेको छ।
यो सुखद उपलब्धीका लागि नगरपालिकाले नीति, योजना तथा बजेट निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने नगर प्रमुख, नगर उपप्रमुख सहित सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, बजेट कार्यान्वयनमा निरन्तर खटिने शाखा प्रमुख, राष्ट्रसेवक कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी र नगरबासीप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्ले र लेखा प्रमुख भरत डि.सी.द्वारा प्रमाणित गरिएको यो प्रतिवेदनले आगामी वर्षमा समेत सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र सहकार्यबाट उच्च कार्यसम्पादन हुने विश्वास जगाएको छ।