Loading

सुर्खेतमा फेला परेको महिलाको शव कालीकोटकी सिर्जना खड्काको भएको पुष्टि, बुबाले गरे सनाखत

सुर्खेतमा फेला परेको महिलाको शव कालीकोटकी सिर्जना खड्काको भएको पुष्टि, बुबाले गरे सनाखत

कालीकोट २५ असार । कर्णाली नदीमा भएको गाडी दुर्घटनामा परी बेपत्ता भएकी कालीकोटकी एक युवतीको शव ६ दिनपछि सुर्खेतमा फेला परेको छ। सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ डङ्डगेस्थित कर्णाली नदीको छालमा फेला परेको महिलाको शव कालीकोटकी १८ वर्षीया सिर्जना खड्काको भएको पुष्टि भएको हो।

असार २३ गते बेलुकी अन्दाजी ४:०० बजेको समयमा कर्णाली नदीको छालमा एक महिलाको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। फेला परेको उक्त शवलाई संकलन गरी परीक्षण र पहिचानका लागि सुर्खेतको कालागाउँस्थित प्रदेश अस्पतालको शव गृहमा राखिएको थियो।

शव गृहमा राखिएको उक्त शवलाई आज बिहीबार (असार २५ गते) साँझ ६:३० बजे मृतकका बुबा धन बहादुर खड्काले आफ्नै छोरी सिर्जना खड्काको भएको भनी पहिचान (सनाखत) गर्नुभएको प्रहरीले जनाएको छ। मृतक सिर्जना कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर २ की स्थायी बासिन्दा हुनुहुन्थ्यो।

उनी गत असार १८ गते बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १०५५ नम्बरको गाडी दुर्घटनामा परी नदीमा बेपत्ता भएकी थिइन्। सोही दुर्घटनामा परी बेपत्ता भएका पचालझरना-९ का मेखे तिरुवाको शव हिजो कैलालीमा फेला परेको थियो भने सिर्जनाको शव सुर्खेत खण्डमै फेला परेको हो। छोरीको शव पहिचान भएसँगै मृतकका परिवार र रास्कोटबासी शोकमा डुबेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार