Loading

प्रजिअ सुयलको सरुवा: बिदाइ हुनुअघि राजनीतिक दल र पत्रकारसँग के भयो छलफल ?

प्रजिअ सुयलको सरुवा: बिदाइ हुनुअघि राजनीतिक दल र पत्रकारसँग के भयो छलफल ?

कालीकोट २४ असार । गृह मन्त्रालयले हालै गरेको निर्णयसँगै कालीकोटको प्रशासनिक नेतृत्वमा ठूलो हेरफेर भएको छ। मन्त्रालयकाे गत असार १९ गतेको निर्णय अनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको देशव्यापी सरुवा गर्ने क्रममा कालीकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोकर्णराज सुयलको काठमाडौंस्थित अध्यागमन विभागमा सरुवा भएको हो।

आफ्नो सरुवा सुनिश्चित भएसँगै प्रजिअ सुयलले जिल्ला छोड्नुअघि बुधबार कालीकोटमा एक विशेष कार्यक्रमको आयोजना गर्नुभयो। उहाँले जिल्लाका क्रियाशील सञ्चारकर्मी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग आफ्नो कार्यकालको समीक्षा र विदाई बारे जानकारी दिनु भएकाे नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकाेटका अध्यक्ष भरतराज बिष्टले बताउनु भयाे।

छलफलका क्रममा प्रजिअ सुयलले आफ्नो कालीकोट बसाइ निकै सिकाईपूर्ण र स्मरणीय रहेको बताउनुभयो। उहाँले जिल्लामा शान्ति सुरक्षा कायम राख्न र प्रशासनिक सेवालाई जनमुखी बनाउन स्थानीय राजनीतिक दल र पत्रकारहरूले खेलेको सहयोगी भूमिकाप्रति हार्दिक आभार समेत प्रकट गर्नुभयो।

सो अवसरमा बोल्दै स्थानीय सरोकारवालाहरूले प्रजिअ सुयलले कालीकोटमा बसुञ्जेल असल कर्मका साथ जिल्लाको अमनचयनलाई बलियो बनाउन महत्त्वपूर्ण कमाण्डिङ भूमिका खेलेको भन्दै प्रशंसा गरे। प्रजिअ सुयलको सुशासनमुखी योगदानप्रति सहभागीहरूले भावुक आभार प्रकट गर्दै आगामी यात्राको शुभकामना दिएका थिए।

यसैगरी गृह मन्त्रालयको सोही निर्णय बमोजिम कालीकोटको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा झविलाल भट्टराई आउने निश्चित भएको छ। अर्घाखाँची जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहनुभएका उपसचिव भट्टराईलाई मन्त्रालयले प्रजिअको जिम्मेवारीसहित कालीकोट पठाएको हो।

अर्घाखाँचीमा प्रशासनिक क्षेत्रको लामो र अब्बल अनुभव सँगाल्नुभएका नवआगन्तुक प्रजिअ भट्टराई छिट्टै कालीकोट आइपुग्ने बुझिएको छ। जिल्लाबासीले सफल प्रजिअ सुयललाई हार्दिक विदाई गर्दै नयाँ प्रजिअको नेतृत्वमा पनि स्थानीय प्रशासन अझ सुदृढ र जनपक्षीय हुने अपेक्षा राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार