Loading

कालीकोटमा बजार अनुगमन तीव्र: ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री नियन्त्रण’ र ‘विषादी न्यूनीकरण’का लागि संयुक्त टोली बजारमा

कालीकोटमा बजार अनुगमन तीव्र: ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री नियन्त्रण’ र ‘विषादी न्यूनीकरण’का लागि संयुक्त टोली बजारमा

मान्म कालीकोट २३ असार । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने वस्तुहरूको अवैध बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार संरक्षणका लागि कालीकोटमा एक वृहत् संयुक्त बजार अनुगमन कार्य सम्पन्न भएको छ। आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण (नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यका साथ जिल्लाका विभिन्न बजार क्षेत्रमा रहेका औषधि पसल तथा किराना पसलहरूको विशेष अनुगमन गरिएको हो। यसका साथै, कृषि उपजमा बढ्दो रासायनिक विषादीको जथाभाभी प्रयोग रोक्न र विषादी न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउन एग्रोभेट पसलहरूको समेत साेमबार कडा निगरानी र निरीक्षण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला समन्वय समिति कालीकोट र खाँडाचक्र नगरपालिकाको अगुवाइमा भएको यस संयुक्त अनुगमनमा स्वास्थ्य सेवा कार्यालय र पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको प्राविधिक सहभागिता रहेको थियो। संयुक्त टोलीले जिल्ला सदरमुकाम मान्म बजार, ताडी (तेस्रो) बजार, खाँडाचक्र–७ स्थित ऐतिहासिक पिली बजार, गाल्जे र नाग्म बजार लगायतका मुख्य व्यापारिक केन्द्रहरूमा पुगेर पसलहरूको सघन अनुगमन गरेको हो। अनुगमनका क्रममा नवजात शिशुको स्वास्थ्यमा असर पुर्‍याउने प्रतिस्थापन गर्ने दूध तथा ल्याक्टोजेनजन्य वस्तुहरूको अवैध प्रवर्द्धन र बिक्री वितरण नगर्न किराना तथा औषधि व्यवसायीहरूलाई सचेत गराइएको छ भने म्याद गुज्रिएका सामग्रीहरू जफत समेत गरिएको छ।

त्यसैगरी, एग्रोभेट पसलहरूको अनुगमनका क्रममा कृषकहरूलाई जथाभाभी कडा विषादी बिक्री नगर्न, प्रतिबन्धित विषादीहरू नराख्न र मानव स्वास्थ्य एवं पशु स्वास्थ्यमा गम्भीर दीर्घकालीन असर पुर्‍याउने रासायनिक तत्वहरूको प्रयोगमा न्यूनीकरण ल्याउन एग्रोभेट सञ्चालकहरूलाई निर्देशन दिइएको छ। नियम विपरित सञ्चालन भएका र इजाजत पत्र बिना औषधि वा विषादी बिक्री गरिरहेका पसलहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी दिँदै टोलीले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने जोकोहीलाई ऐन बमोजिम कारबाही गरिने प्रष्ट पारेको छ। स्थानीय सरकार, प्रशासन र प्राविधिक निकायहरूको यो संयुक्त सक्रियताले बजारमा भैरहेको मनपरी रोक्न र जनचेतना जगाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार