Loading

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कालीकोटद्वारा खाद्यान्नमा विशेष छुट: प्रति क्विन्टल १ हजार सहुलियत

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कालीकोटद्वारा खाद्यान्नमा विशेष छुट: प्रति क्विन्टल १ हजार सहुलियत

कालीकोट १६ असार । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले जिल्लाका उपभोक्ताहरूका लागि खाद्यान्नमा विशेष सहुलियत छुटको व्यवस्था गरेको छ। कम्पनीको प्रधान कार्यालय काठमाडौँ बिक्री वितरण विभागको परिपत्र अनुसार कालीकोट शाखाबाट बिक्री हुने सबै प्रकारका खाद्यान्नमा प्रति क्विन्टल १ हजार रुपैयाँ (प्रति किलो १० रुपैयाँ) छुट दिने निर्णय भएको हो।

कार्यालयद्वारा जारी गरिएको आधिकारिक सूचना अनुसार यो सहुलियत मूल्य यही २०८३ साल असार १६ गतेदेखि लागू भई आगामी असार मसान्तसम्म कायम रहनेछ। कालीकोट शाखाले उपलब्ध गराएका विभिन्न प्रजातिका चामलको साविकको मूल्य र सहुलियतपछिको समायोजन मूल्य यस प्रकार रहेको छ ।

अरुवा सोना मन्सुली (वा एफआर अरुवा सोना मन्सुली) चामलको साविकको मूल्य प्रति किलो ५९ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ सहुलियत पाएसँगै प्रति किलो ४९ रुपैयाँ कायम गरिएको छ। यस अनुसार २५ किलोको एक बोरा चामल ग्राहकले १ हजार २ सय २५ रुपैयाँमा पाउनेछन्।

त्यसै गरी प्रिमियम विधाको स्टिम जिरा मसिनो (वा एफआर स्टिम जिरा मसिनो) चामल साविकमा प्रति किलो ८४ रुपैयाँ पर्ने गरेकोमा अब सहुलियतपछि प्रति किलो ७४ रुपैयाँ मूल्य तोकिएको छ, जसको २५ किलोको बोराको बिक्री मूल्य १ हजार ८ सय ५० रुपैयाँ पर्न आउँछ।

मोटो चामल प्रयोग गर्ने उपभोक्ताका लागिसमेत कम्पनीले राहत दिएको छ। अरुवा मोटो (वा एफआर अरुवा मोटो) चामल साविकको प्रति किलो ५६ रुपैयाँबाट घटाएर प्रति किलो ४६ रुपैयाँ कायम गरिएको छ, जसको २५ किलोको एक बोराको मूल्य १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।

यसका साथै अरुवा मध्यम (वा एफआर अरुवा मध्यम) चामल पनि साविकको ५९ रुपैयाँबाट १० रुपैयाँ सहुलियत भई प्रति किलो ४९ रुपैयाँ (प्रति बोरा १ हजार २ सय २५ रुपैयाँ) मा बिक्री वितरण भइरहेको छ।

कम्पनीले सूचनामार्फत सहुलियत कोटाको खाद्यान्न असार मसान्त अगावै सकिएमा यो सहुलियत छुट बिक्री स्वतः बन्द हुने र त्यसपछि पुनः साविककै मूल्य लागू हुने जानकारी दिएको छ। बजार मूल्यभन्दा सस्तो र गुणस्तरीय खाद्यान्न उपलब्ध गराइएकाले तोकिएको समयभित्रै शाखा कार्यालयमा सम्पर्क राखी सेवा लिन कम्पनीले आम कालीकोटबासी सेवाग्राहीहरूमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार