Loading

मौसम पूर्वानुमान: तराईमा तातो लहरको सास्ती, कोशी प्रदेशमा भारी वर्षाको चेतावनी

मौसम पूर्वानुमान: तराईमा तातो लहरको सास्ती, कोशी प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ, ७ असार । देशको मौसमी प्रणालीमा उतारचढाव आउँदा तराई क्षेत्रमा अत्यधिक गर्मी र पहाडी भेगमा वर्षाको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर (लू) चल्ने सम्भावना छ। यसैगरी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत अत्यधिक गर्मी भई ‘तातो दिन’ हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अपिल गरेको छ।

दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मौसम बदली भई वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। तराईतर्फ कोशीका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा दिउँसो र राति दुवै समयमा भारी वर्षाको समेत सम्भावना रहेको छ। रातिको समयमा कोशीका केही र बागमती, गण्डकीका थोरै स्थानमा वर्षा हुनेछ भने कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकीको तराई क्षेत्रमा पनि राति एक-दुई स्थानमा वर्षाको सम्भावना रहेकाले महाशाखाले नदी तटीय र जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार