Loading

मौसम पूर्वानुमान: लुम्बिनी र सुदूरपश्चिममा ‘तातो लहर’, कोशीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी र सुदूरपश्चिममा ‘तातो लहर’, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ६ असार । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा एकैसाथ दुई फरक मौसमी प्रणालीको प्रभाव देखिने पूर्वानुमान गरेको छ। विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र पहाडी तथा हिमाली भेगमा वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर (लू) चल्ने सम्भावना छ। यसैगरी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत अत्यधिक गर्मी भई ‘तातो दिन’ हुन सक्ने भन्दै विभागले सचेत गराएको छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थान र मधेश, बागमती तथा गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको आकलन छ।

विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार