कालीकोट ५ असाढ। कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा एक व्यक्ति आफ्नै परिवारका सदस्यहरूबाट मारिएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सान्नित्रिवेणी गाउँपालिका वडा नं. ४ घर भई हाल सोही गाउँपालिकाको वडा नं. ९ बस्ने ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या भएको हो।
प्रहरीका अनुसार गत जेठ २७ गते साँझ अन्दाजी २०:३० बजेको समयमा सान्नित्रिवेणी गाउँपालिका वडा नं. ९ स्थित सुपेचौर गोरेटो बाटोमा शाही मृत अवस्थामा फेला परेका थिए। घटना लगत्तै प्रहरीले थालेको प्रारम्भिक अनुसन्धानबाट मृतकै परिवारका सदस्यहरूको संलग्नता रहेकाे खुलेको छ। शाहीकै १८ वर्षीय छोरा रूपेश शाही र उनकी ४१ वर्षीया श्रीमती राजकला शाहीले सोही मिति र स्थानमा टाउकोमा ढुङ्गाले प्रहार गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
हत्याकाे आरोपमा प्रहरीले श्रीमती र छोरा दुवै जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका निजहरूलाई कालीकोट जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप गरी हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिनुभयाे।