काठमाडौँ, ३ असार । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका कर्णाली प्रदेशका १ सय २४ औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको व्यहोरा जानकारी गराउँदै एक महत्त्वपूर्ण सूचना जारी गरेको छ। विभागका निमित्त महानिर्देशकद्वारा असार २ गते जारी गरिएको यस सूचनाले औषधि व्यवसाय क्षेत्रमा कानुनी पालनाको विषयलाई थप कडा बनाएको छ।
विभागका अनुसार औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि, नवीकरण तथा सो सम्बन्धी अन्य व्यवस्थाहरू लागू गरिएको छ। उक्त ऐनको दफा ११ को उपदफा (५) मा तोकिएको म्यादभित्र नवीकरण नगरिएका त्यस्ता कानुनी दस्तावेजहरू स्वतः रद्द हुने र सोको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा सरोकारवालालाई उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था रहेको छ।