काठमाडौँ, ३ असार । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर समयमा विवरण र कर दाखिल नगरेका कम्पनीहरूका लागि कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी एक महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ। कार्यालयका रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठद्वारा असार ३ गते जारी गरिएको सूचना अनुसार नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ को व्यवस्था बमोजिम यस्तो छुट दिन लागिएको हो।

कम्पनी ऐन बमोजिम दर्ता भएर पनि कानुनले तोकेको म्यादभित्र आफ्नो विवरण पेश नगरेका, कम्पनी अद्यावधिक नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर र जरिवाना नबुझाएका कम्पनीहरूले यस सुविधाबाट लाभ लिन सक्नेछन्। त्यस्ता कम्पनीहरूले आफ्नो कारोबारलाई निरन्तरता दिन चाहेमा वा कम्पनी दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/०८३ का लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण आगामी संवत् २०८३ साल असोज मसान्तभित्र पेश गर्नुपर्नेछ।
तोकिएको म्याद अर्थात् २०८३ असोज मसान्तभित्र आवश्यक विवरण र नियमानुसारको रकम बुझाएमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना पूर्ण रूपमा मिनाहा हुने व्यवस्था गरिएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले कारोबार जारी राख्न वा दर्ता खारेजी प्रक्रियामा जान चाहने सम्पूर्ण सम्बन्धित सरोकारवालाहरूलाई आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विवरण असोज मसान्तभित्रै पेश गरी यो कानुनी छुटको लाभ उठाउन जानकारी गराएको छ।