जुम्ला, २२ जेष्ठ । कर्णाली प्रदेशको मुटु मानिने चन्दननाथ नगरपालिकाको आर्थिक स्थिति गम्भीर संकटको भूमरीमा फसेको छ। एकातिर विकास निर्माणको नाराले बजेट खर्चको लक्ष्य पूरा गर्न नसक्दा अर्कोतिर आर्थिक अनियमितता र बेरुजुको चाङले पालिकाको सुशासनलाई गिज्याइरहेको छ। भर्खरै सार्वजनिक भएको लेखापरीक्षण प्रतिवेदनले नगरपालिकाको वित्तीय अवस्था ‘भताभुंग’ रहेको तथ्य बाहिर ल्याएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा मात्र नगरपालिकाले १ अर्ब ५ करोड ६४ लाख १४ हजारको आर्थिक कारोबार गरेकोमा १ करोड ९३ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ। जसमध्ये असुल गर्नुपर्ने रकम ३४ लाख २९ हजार, नियमित गर्नुपर्ने १ करोड ८ लाख ९१ हजार र पेस्की बाँकी १५ लाख १० हजार रुपैयाँ रहेको छ। यसरी थपिएको बेरुजुसँगै चन्दननाथ नगरपालिकाको कुल अद्यावधिक बेरुजु ४२ करोड १० लाख ६४ हजार रुपैयाँ पुगेको छ, जुन पालिकाको लागि निकै लज्जास्पद आँकडा हो।
बजेटको चरम दुरुपयोग: विकासभन्दा सुविधामा ध्यान
नगरपालिकाको बजेट खर्च गर्ने शैली हेर्दा विकास निर्माणभन्दा पदाधिकारीहरूको सेवा सुविधा र वितरणमुखी कार्यक्रममा बढी केन्द्रित देखिएको छ। पालिकाले आफ्नो आन्तरिक आयको ६२.२९ प्रतिशत रकम पदाधिकारीहरूको सुविधामा मात्र खर्च गरेको पाइएको छ, जसले जनताको करको पैसा कुन उद्देश्यका लागि प्रयोग भइरहेको छ भन्ने कुराको पोल खोलेको छ। साथै, मापदण्डविपरीत नमुना विद्यालयलाई अनुदान र आवश्यकताभन्दा बढी बालविकास सहजकर्ताको नियुक्तिले पनि आर्थिक भार बढाएको छ।
असारमै बजेट सक्ने प्रवृत्ति र कानुनी शून्यपन
नगरपालिकामा सार्वजनिक खरिद नियमावली नहुनु र आर्थिक कारोबारमा ‘सुत्र’ (SUTRA) प्रणालीको बेवास्ता गरिनुले आर्थिक सुशासनको धज्जी उडाएको छ। भौतिक पूर्वाधारतर्फ पुँजीगत खर्चको ७६.५२ प्रतिशत रकम असार महिनामै खर्च गरिनुले विकास निर्माणको गुणस्तर कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ। उपभोक्ता समितिमार्फत भएका कामहरूमा प्राविधिक नापजाँचको अभाव र मापदण्डविपरीतको भुक्तानीले बजेटको व्यापक दुरुपयोग भएको संकेत गर्छ।
जिन्सी व्यवस्थापनमा लापरबाही, तलबी प्रतिवेदन पारित नगरी तलब वितरण र कानुनसम्मत प्रक्रियाको अभावले चन्दननाथ नगरपालिकाको प्रशासनिक क्षमतामाथि नै प्रश्न खडा गरेको छ। ४२ करोडभन्दा बढीको बेरुजुले पालिकाको आर्थिक अनुशासनलाई गिज्याइरहँदा, अब पनि नेतृत्वले आफ्नो कार्यशैली नसुधार्ने हो भने चन्दननाथ नगरपालिका कागजी विकासको दुश्चक्रमा फस्ने निश्चित छ। जनताले पसिना बगाएर तिरेको करको रकम ‘बेरुजु’ को नाममा स्वाहा हुनु आम नगरवासीका लागि चिन्ताको विषय बनेको छ।