सुर्खेत, २० जेठ | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रमले समृद्ध कर्णाली र सुखी कर्णालीवासीको दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेको छ।
कृषि र स्वरोजगारमा जोड सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने नीति लिएको छ। यस अन्तर्गत पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने उद्यमीलाई कृषि ऋणमा शतप्रतिशत ब्याज सहुलियत उपलब्ध गराइनेछ। साथै, ‘रैथाने बाली, आत्मनिर्भर कर्णाली’ अभियान मार्फत स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने र किसानहरूलाई प्रोत्साहन गर्ने योजना सरकारले अघि सारेको छ।
शिक्षा, स्वास्थ्य र डिजिटल प्रविधि शिक्षा क्षेत्रमा दश वर्षे योजना (२०८३/०८४-२०९३/०९४) तर्जुमा गर्दै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारमा जोड दिइनेछ। विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमता (AI) जस्ता आधुनिक प्रविधिका विषयमा इन्टर्नसिप र अनुसन्धानको अवसर प्रदान गरिनेछ। स्वास्थ्यतर्फ प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने र सबै अस्पतालको सेवालाई डिजिटलाइज गर्ने योजना सार्वजनिक गरिएको छ।
सुशासन र पर्यटन प्रवर्द्धन प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै ‘शून्य बेरुजु अभियान’ सञ्चालन गर्ने सरकारको दृढता छ। सेवा प्रवाहलाई चुस्त बनाउन ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन मार्फत नागरिकका गुनासाको द्रुत सुनुवाइ गरिनेछ। यसका साथै, आगामी दस वर्षलाई ‘कर्णाली पर्यटन दशक’ को रूपमा घोषणा गर्दै पर्यटकीय पूर्वाधारको विकासमार्फत रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य सरकारले राखेको छ।