सुर्खेत १९ जेष्ठ । कर्णाली प्रदेशको स्वास्थ्य सेवामा एक महत्त्वपूर्ण सुधारको सुरुवात गर्दै वीरेन्द्रनगर नगरपालिकाले बिरामीका लागि ‘निःशुल्क रगत’ उपलब्ध गराउने भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा अब प्रदेशभरिबाट उपचारका लागि वीरेन्द्रनगर आउने बिरामीहरूले सहज र निःशुल्क रूपमा रगत प्राप्त गर्नेछन्।
नगरपालिकाको आर्थिक वर्ष ८२/८३ को नीति, कार्यक्रम तथा विनियोजित बजेटमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो। यस सेवालाई प्रभावकारी बनाउन आज वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा सुर्खेतबीच औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनमाया ढकाल र रेडक्रस सुर्खेतका तर्फबाट सभापति रामलाल आचार्यले हस्ताक्षर गरेका छन्। यो निःशुल्क रगत सेवा जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा सञ्चालित ब्लड बैंकमार्फत उपलब्ध हुनेछ। यो महत्त्वपूर्ण कार्यलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने गरी सम्झौतामा प्रतिबद्धता जनाइएको छ।
नगर प्रमुख मोहनमाया ढकालले यस कार्यले स्वास्थ्य सेवाको पहुँचमा रहेका नागरिकहरूलाई ठूलो राहत दिने र सेवालाई थप व्यवस्थित बनाउने अपेक्षा व्यक्त गरेकी छन्। त्यस्तै, प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापाले नगरपालिकाको यस साहसिक कदमले विशेषगरी विपन्न र अस्पतालमा उपचाररत बिरामीहरूलाई प्रत्यक्ष रूपमा ठूलो सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्। नगरपालिकाको यो निर्णयले कर्णालीवासीका लागि जीवनरक्षाको क्षेत्रमा एउटा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।