दैलेख, १८ जेष्ठ । सुर्खेतबाट कालीकोटको शुभकालिका–६ हाउडीतर्फ आउँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार दिउँसो १ बजे दैलेख जिल्लाको भैरवी गाउँपालिका–७, कालगौडास्थित भित्री सडकखण्डमा उक्त जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी ज्यान गुमाउनेहरू सबै शुभकालिका गाउँपालिकाका बासिन्दा हुन्। मृत्यु हुनेमा जिप चालक शुभकालिका–५ बर्ष ३२ का कलबहादुर रोकाया शुभकालिका–४ बर्ष ३८ का नेत्र सुनार र शुभकालिका–६ बर्ष ६५ का पुल्तीसरा कामी रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूमा सुमत कामी (२७ वर्ष), भरत विक (१८ वर्ष), कमल सुनार (२८ वर्ष), चक्र सुनार (३५ वर्ष) र नन्दु सुनार (३५ वर्ष) रहेका छन्। घाइतेहरूको उपचारका लागि दैलेख जिल्ला अस्पताल लगिएको छ।
सु.प. ०१००१–४९६४ नम्बरको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।