रास्कोट (कालीकोट), जेठ १७ – कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गर्दै स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। स्वास्थ्य सेवाको पहुँचलाई नागरिकको घरदैलोसम्म पुर्याउने सङ्कल्पका साथ आयोजित भव्य घोषणा समारोहमा रास्कोटवासीको उत्साहपूर्ण सहभागिता रहेको थियो।
घोषणा कार्यक्रममा स्थानीय कला, संस्कृति र आकर्षक नृत्य प्रस्तुतिहरूले थप रौनकता छरेका थिए। सांस्कृतिक कार्यक्रमले पालिकाको स्वास्थ्य अभियानलाई उत्सवका रूपमा परिणत गर्दै जनचेतना प्रवाहमा थप मद्दत पुर्याएको थियो।
पालिकास्तरीय खोप समन्वय समितिका संयोजक तथा रास्कोटका उपप्रमुख मनिराज बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रवक्ता तथा वडा अध्यक्ष धनबहादुर धामी, जनस्वास्थ्य अधिकृत कटक महत, निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज शाही लगायतको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप ओजिलो बनाएको थियो।
यस अवसरमा रास्कोट नगरपालिकालाई पूर्ण खोपयुक्त बनाउन अहोरात्र खटिएका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष सम्मान गरिएको छ। स्वास्थ्य सेवाको अग्रमोर्चामा रहेर महत्त्वपूर्ण योगदान पुर्याउने यी ‘स्वास्थ्य सारथी’ हरूको सम्मानले आगामी दिनमा यस्ता जनस्वास्थ्यका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन हौसला प्रदान गरेको छ।
पूर्ण खोप सुनिश्चितताको यो घोषणा केवल एक औपचारिकता मात्र नभई, रास्कोट नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य र भविष्यप्रति देखाएको उच्च प्राथमिकताको प्रमाण हो। कार्यक्रममार्फत नगरपालिकाले स्वास्थ्य सेवाको दिगोपना र निरन्तरता कायम राख्ने प्रतिबद्धतासमेत दोहोर्याएको छ।